काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको बांसामोरो प्रदेशमा समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा सहभागी भएका छन्। उनी परामर्शदाताका रूपमा सहभागी भएका हुन्।
समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए। लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो।
यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ। सोही कानुन निर्माणमा डा रिजाल सहभागी भएका हुन्।
निर्वाचनमा विभिन्न आठवटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिए। महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उनले दिए।
परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ। सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताए।
बांसामोराका मुख्यमन्त्री अहोड बी इब्राहिम, त्यहाँका सभामुखलगायत शीर्षनेतासँग छलफल गरिरहेका छन्। नेपालका पूर्वरक्षामन्त्रीसमेत रहेका डा रिजाललाई संसद् बैठक चलिरहेका बेला मुख्यमन्त्री इब्राहिमले निर्वाचन कानुनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता रुपमा नियुक्त गरिएको जानकारी गराएका थिए। त्यसपछि सभामुखले संसद् बैठक स्थगित गरी सबै सांसदहरूसँग उनको परिचय गराएका थिए।
संविधानसभा सदस्य तथा पूर्वसांसद रिजालले नेपालले पनि फिलिपिन्सबाट पाठ सिक्नुपर्ने बताए। ‘नेपाल पनि द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको देश हो। अझै हाम्रोमा द्वन्द्वको धङधङी गएको छैन। शान्ति प्रक्रियामा आएको छोटो समयमै फिलिपिन्सले देखाएको एकता र शान्तिप्रतिको प्रतिबद्धता नेपालका लागि उदाहरणीय बन्न सक्छ,’ उनले भने।
अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका रिजाल अध्यापनमा पनि संलग्न छन्। अन्तर्राष्ट्रिय कानुनका जानकार उनी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषयविज्ञका रूपमा सहभागी हुँदै आएका छन्।


