काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासमा दूरगामी महत्वका निर्णयहरु भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताए ।
उनले भने, ‘मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णयहरू भएका छन भने देश र जनताको हितमा धेरै काम भएका छन् ।’
प्राधिकरणभित्रको नीतिगत सुधार गर्दै लोडसेडिङलाई पूर्ण रुपमा अन्त्य गर्दै संस्थालाई नाफामा लैजाने गरी काम भएको उनले बताए । ‘साथै प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ ।’
आफुले सरकारको नेतृत्व गर्दै गर्दा देशमा लोडसेडिङ अन्त्य गर्ने कुरा गर्दा मजाकको विषय बनाइएको समेत उनले बताए । ‘त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए ।’ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान ल्याएपश्चात आफ्नो संकल्प इमान्दारीताका साथ पूरा भएको उनले बताए ।
‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानजीलाई ल्याएपश्चात् हाम्रो संकल्प इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका थियौँ ।’ उनले बताए ।


