काठमाडौँ– विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा (धीरेन्द्रकृष्ण शास्त्री)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने भएका छन्। शुक्रबार नेपाल आइपुगेका बाबाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री दाहालसँग भेट्ने तय भएको छ।
विवादित बाबाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहेका थिए। तर राष्ट्रपति पौडेललाई ज्वरो आएको भन्दै बाबाको प्रस्तावलाई सचिवालयले फिर्ता गरिएदिएको स्रोतको भनाइ छ।
२५ जनाको समूहमा आएका बाबालाई नेपालका कांग्रेसका सांसद विनोद चौधरीका छोरा वरुण चौधरीले नेपाल ल्याएका हुन्। नवलपरासीको शाश्वतधाममा तीन दिन प्रवचन दिन बाबा नेपाल आएका हुन्।
शास्वत धाममा तीन दिन प्रवचनपश्चात शास्त्री मेघौली जाने कार्यक्रम छ। शास्त्री भदौ ६ गते भारत फर्किनेछन्।
बागेश्वर बाबाले झारफुक र तन्त्रमन्त्रबाट क्यान्सरलगायतका सबै रोग निको पार्न सक्ने क्षमता आफूमा रहेको बताउँदै आएका छन्। यस्तै भारतमा कार्यक्रम आयोजना गरी हिंसाका लागि प्रेरित गर्ने अभिव्यक्ति पनि उनले दिँदै आएका छन्। शुक्रबार मात्रै पनि उनले नेपाल भारतको अभिन्न अंग भएको अभिव्यक्ति दिएका थिए।
उनलाई सरकारले विशेष सुरक्षा प्रबन्ध गरिदिएको छ। विवादित बाबालाई अतिरिक्त सम्मान र सुरक्षा दिइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ।


