भरतपुर– भरतपुर अस्पतालले अन्तरंग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।
अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिएका हुन्।
उनले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोस्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए।
अस्पतालमा हाल ६ सय शय्या सञ्चालनमा छन्। अस्पतालमा ओपिडी (बहिरंग) सेवाको टिकट पनि निःशुल्क छ।
भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्छन्। अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए।–रासस


