ललितपुर– पाटनको हाखा चुसिका नानीगल्लीमा छ सिस्टर्स क्रियसन एण्ड क्याफे। प्रयोग भइसकेका वस्तु मकैको खोया र खोसेलाबाट गुडिया बनाउने ठाउँको रुपमा यो क्याफे चिनिन थालेको छ।

तीन जना दिदीबहिनीको संयुक्त प्रयासबाट सुरु भएको यो क्याफे चलाउने जिम्मा अहिले लक्ष्मी नकर्मीलाई आएको छ। २० वर्षको हुँदा एक म्यागेजिनमा अमेरिकामा केही मानिसहरुले मकैको कोया (कर्न हस्क) बाट गुडिया र विभिन्न कलाकृती बनाउने गरेको पढेकी लक्ष्मीले त्यहीँबाट प्रेरित भएर आफ्ना दिदीबहिनीहरुसँग मिलेर यसको सुरुवात गरिन्।

‘मैले विशेषतः नेपाली जातजाति र तिनको भेषभुषालाई प्रतिबिम्बित गरी गुडिया बनाउने गरेकी छु। कहिलेकाँही ग्राहकहरुको अर्डर अनुसार पनि मैले बनाउने गरेको छु,’ उनले भनिन्।

अहिले उनको यो व्यवसायमा ५ जना सहयोगी छन्। अधिकांशले बोल्न र सुन्न सक्दैनन्। उनीहरुलाई लक्ष्मीले नै तालिम दिएर दक्ष बनाएकी हुन्।
यहाँ बन्ने गरेका गुडियामा काठको धुलो, मकैको खोया र खोसेला, कपडा, लोक्ता कागज, तार लगायतका वस्तु प्रयोग हुन्छ।

‘मैले सुरुवाती समयमा गुडिया बनाएर साथीहरुलाई गिफ्ट दिनको लागि लग्थें। साथीहरुले सित्तैमा केही पनि लिन हुन्न भनेर केही रुपैयाँ दिन्थे। पछि विस्तारै मैले यसलाई व्यवसायकै रुपमा अघि बढाएँ,’ लक्ष्मीले भनिन्।
थप तस्बिर











