काठमाडौं–सुन तस्करी प्रकरणलाई लिएर १० साउनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। पछिल्लो पटक २९ साउनमा एमाले अवरोधका कारण सञ्चालन हुन नसकेको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँसेर आजका लागि तय गरेका थिए।
आजको बैठक पनि सहज ढंगले सञ्चालन हुनेमा आशंका छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बेलुकी एमाले अध्यक्ष केपी ओलीसँग संसद् खुलाउन वार्ता गर्ने र आजदेखि नियमित चल्ने बताए पनि सत्तापक्ष र प्रतिपक्षबीच बैठक बसेन। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेलगायत विभिन्न ८ कार्यसूची पेस गर्नेछन्। एमालेले लगातार संसद् अवरुद्ध गर्दा लामो समयदेखि बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन।
विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमाले मागलाई सरकारले खारेज गरेको छ। सोही कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि एमालेबाट अवरोध हुने आशंका यथावत् छ।


