भक्तपुर– भक्तपुर जिल्लाको सानोठिमीस्थित बाल सुधारगृहबाट एक सयभन्दा बढी कैदी भागेका छन्। कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।
भागेका सबै कैदीहरु नाबालिग हुन्। सुधारगृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ।
‘केटाहरु भागेछन्, महिला भागेका छैनन्। कति भागे भन्ने यकिन भइसकेको छैन,’ रिजालले भने, ‘महिला ४३ जना थिए। ती सबै भित्रै छन् भन्ने कुरा आएको छ। पुरुषहरूको गणना भइरहेको छ। यसको विस्तृत विवरण आउन बाँकी छ।’
बाल कैदीहरूले सुधारगृहको सुरक्षाका लागि खटिएका प्रहरीलाई समेत आक्रमण गरेका थिए। उनीहरूको आक्रमणबाट एक जना प्रहरी निरीक्षकसहित १५ प्रहरी घाइते भएको रिजालले जानकारी दिए। सुधारगृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए।
उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्ने क्रम पनि जारी रहेको रिजालले बताए। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
(अपडेट: सुधारगृहबाट २१६ जना कैदीबन्दी भागेको पुष्टि भएको छ।)


