संखुुवासभा–संखुवासभाको जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ। कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो।
कारागारमा रहेको सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो। कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारवाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बताए। घटनालगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो। मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट १ भदौमा दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ।असई चौधरीसहित ११ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुुवासभाले गत २८ साउनमा पक्राउका लागि अनुमति दिएको थियो।
कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन।
कुटपिटबाट संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। २५ जना अट्ने क्षमताको कारागारमा अहिले एक सय ३६ जना कैदीबन्दी छन्।–रासस


