काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। राष्ट्रिय टोलीलाई आफ्नै निवासमा बोलाएर उनले शुभकामना दिएका हुन्।
‘भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकोमा म नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित यसमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु,’ उनले भने।
प्रतियोगितामा नेपालको सहभागिताले नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने विश्वास उनले व्यक्त गरे।
‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टिमका लागि थप उत्साहको विषय हो,’ उनले भने, ‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस्।’


