काठमाडौँ- समय अभावका कारण आजका लागि बोलाइएको सर्वदलीय बैठक भोलि ११ बजे बस्ने भएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले आज समय अभावका कारण बैठक भोली बस्ने गरी स्थगीत भएको जानकारी दिए।
‘आज प्रधानमन्त्री र सभामुख ज्यूबीच पनि टेलिफोन कुराकारी भयो। प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो,’ उनले भने, ‘समय लिएरै छलफल गरौं भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ। बैठक ११ बजे यही सिंहदरबारमा बस्छ।’
उनले आजको कार्यदल बैठक समेत सकरात्मक रुपमा सकिएको बताए। उनले भने ‘आजको बैठक एक सकरात्मक छ। समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन्।
उता सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो।
एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो। सोमबार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए।


