‘हृदय’ हातमा छ। पच्चीस हजारको किताब, नपढ्नु कसरी, भलै आफैं किनेको हैन। आठ दश पन्नासम्म खासै तानेन। तिनै गाउँका गन्थन, दुखजेलो। संस्मरणहरु त्यस्तै त हुन् हाम्रामा, यो पनि त्यतै त्यतै जान थाल्यो कि क्या हो? तर पढ्न छोड्ने त कुरै भएन, अहिले त पच्चीस सय पनि उठेको छैन। खासमा पाँच सय पनि। तर बिस्तारै ऊ हावी हुँदै गयो।
प्रिय प्रिय प्रिय हुँदै हुरुक्कै बनाउने छाँट। बेलाबेलामा ध्यानमै पुर्याइदिएझैं, अन्तस्करणमा दह्रो हमला। सशक्त भावहरु, निर्वाध प्रवाह। त्यसपछि , घोतार्न सुरु भइहाल्यो। हरफपिच्छे केही न केही। कसको किताब, कहिले फिर्ता दिने, मतलव नै भएन। नयाँ किनेर दिँदा भइगो। जति मनलाग्यो रंगीचंगी। सुखम् भावमा हरियो, अर्कोमा नीलो। बीचबीचमा चित्र, इमोजी। अब त हामीबीच कोही नआउने पक्का हुँदै गइरह्यो। झोलमा ऊ ढुक्कै, जतासुकै जाँदा। छिटै सिद्धिनेछ अब। र त्यसपछि पनि पक्कै फिर्ता दिने हैन, सुटुक्क अर्को किनेर भर्पाई गर्दिने हो। कुरै छैन।
कन्टेन्ट र प्रस्तुतिको हिसाबले एकदमै सटिक छ-हृदय। सुरुमा कताकता मपाईंत्व हो कि झैं लाग्न सक्छ, तर अघि बढ्दै जाँदा वक्ताको टोन पक्कै त्यो हैन। यहाँ जुन पात्र छन्, जुन घटना, परिवेश छन्, अनि सफलता र असफलताका कथा छन्, सत्य भएको र राष्ट्रको चिकित्सा क्षेत्रजस्तो अहं अंगको व्यापक वर्णन र विवरण भएकाले यो सामान्य पुस्तक किमार्थ होइन। सदावहार देशमा मडारिएको बेथिति र भष्टाचार, दक्षताभन्दा पनि ‘मेरो मान्छे तेरो मान्छेको’ रस्साकस्सी, विवेकहीन नेतागिरी, गुण्डागर्दी र अनुशासनहीनताको बाक्लो जालो चिर्दैचिर्दै बेजोड प्रशासनिक काम कारबाहीको प्रमाण र नतिजा दिएकोमा यो पुस्तक एक हिसाबले प्रशासनको गुरु हो, मार्गदर्शक हो। अनेक अरु सेरोफेरो, आयाम बोकेर हिँडेकाले हृदयको सान्दर्भिकता केवल एक वर्ग, क्षेत्र, समयमा सीमित छँदैछैन।
वास्तवमा, यससँग नजिकिदै जाँदा मनमा यस्तो पनि आयो कि २५ त के यस्तो अनुभुतिका लागि ५० हजार पनि तिरौँ, भर्खरै भेटिहालौँ। अनि भेटेपछि सुस्तरी मनमनै सोधौँ, यस्तो पनि हुन्छ? नाम पो राख्देका हुन् त, भगवान्, सिरियस्ली लिनुभएछ!
यति ज्ञानी मान्छे विरलै भेटिन्छन्। अनि ज्ञानीहरु बोरिङ हुन्छन् भन्ने पनि लाग्थ्यो कुनैबेला, कुनै बिगार नगर्ने, धुनधुनती आफ्नै काम गर्ने, एकोहोरा, परी आयो भने टाईँफाईँ नजान्ने। तर किताबको यो पात्र बोरिङ छैन। न त लोसे। अत्यन्तै तीक्ष्ण, आफ्नै हिसाबले ड्यासिङ, डाइनामिक, जबरजस्त पो छ। गुणैगुणले पुरीएको कस्तो मान्छे, पत्याउनै गाह्रो। अनि यसमा त शंकै छैन कि साँच्चैको भगवान वा कुनै अलौकिक शक्तिको प्रकृतिमा बाँच्नुभन्दा साधारण मान्छे भएर असल हुनु र असल भइरहनु, सम्झौता नगर्नु र नतिजा दिनुजति चुनौतीपूर्ण के होला?
अरुलाई भए त ‘ए बढाईचढाई लेखेछौ, आफ्नो कथा भनिरँदा त जो पनि मायालु, निष्कपट देखिहाल्छ नि!’ पनि भनिन्थ्यो होला, तर अन्त्यसम्म पढिसक्दा किताबले यस्तो महसुस गराउँछ, त्यो यात्रा र विवरणको आडमा, कि यस्तो सोध्नु त बकम्फुसे प्रश्न हुनेछ। उसै पनि यति कम उचाईको मान्छेले त्यति धेरै सम्हालेको, देखेको, भोगेको, सहेको र ठेगान लगाएको मान्छेलाई दुई शब्द पनि अन्यथा सोचेर अल्मल्याउन हुँदैन।
हजारौंको ज्यान बचाएको, अरु धेरैलाई बचाउने बाटो बनाएको, मानव सेवामा हरपल आफूलाई खियाएको मान्छेलाई लरोतरो मान्छेले प्रश्न सोधिहिँड्ने हैसियत पनि त राख्दैन। वास्तवमा किताब सिध्याएदेखि मनमा यही हरफ गुन्जिरेछ– हृदयभरीको मेरो शुभकामना तिमीलाई!
डाक्टरहरुले यो किताब पढे भने धुरुधरु रोलान्। यति धेरै मानव संवेदनासँग जोडिएको आफ्नो पेशा सम्झिएर राम्रा डाक्टर रुनेछन् भने नराम्रा डाक्टर बुद्धि फिरेर रुनेछन्।
फुच्चे भगवान कोइरालाको आँखामा सपना थियो। भलै त्यो सपना कसैले सर्जन बन्नुपर्छ भनेर भन्दिएपछि सोलोडोलो आकारमा आएको थियो। अनि त्यो गाढा सपना थियो। मधुरा सपना कहाँ विपना बन्छन् र? हल्का आकांक्षा वा रोजाई हुन्थ्यो भने यात्रामा आएका बेग्रल्ती कठिनाई, प्रपञ्चहरुलाई किनारा गर्न शायदै सक्थे उनले। अनुशासन, जुझारुपन र सबैभन्दा त स्पष्टता, सुझबुझ र अडान जति डा कोइरालामा देखिएको छ, किताबको आधारमा, अलिअलि मात्रै पनि हालका नयाँ पुराना नेता, पार्टीहरु, प्रशासकहरुमा भइदिएदेखि गजब हुन्थ्यो देश।
किताबले सम्झाउने अर्को कुरा, आफ्नो लक्ष्य सबैलाई भन्दै फुक्दै हिंड्न नहुने हो कि? यसो गर्दा भन्दा, चुपचाप एकतमासको मेहनत गर्नेले सायद यात्राको लागि ऊर्जा बचाउँछ। विश्वसनीयता पनि कमाउँछ। उस्तै पनि साँच्चै भित्री मनको इच्छा वा अन्तरात्माको पुकार हो भने मान्छेले त्यसलाई विषेश वा भन्नैपर्ने ठाउँबाहेक पोख्दै हिंड्न पनि त सक्दैन। डा कोइराला कम बोल्थे, आफूलाई जता पायो छर्दैनथे। शायद त्यसैले मानवीय कमजोरीमा पनि उनी अल्मलिरहन सकेनन्, पाएनन्। लहैलहैमा लागेनन्। जस्तै, भर्खरको उमेरमा रुसमा एमबीबीएस गर्न जाँदा कयौं नेपाली साथीहरुको ‘दराजभरि बियरका बोतल’, ‘अंगालोमा गर्लफेन्डहरु’ भइदिने। अब यता लाग्यो भने क्षणिक रमाइलो त होला, तर पढाइ बर्बाद। उता घरमा उस्तै पनि ‘रुस गएपछि छोरो बिग्रिन्छ’ भनेर त्यहाँ नपढाउन, नपठाउन खोजको सन्दर्भ। करिब १२० नेपाली रहेको सो खार्कोभ सहरमा उनी र केही साथी मिलेर ‘स्वच्छ आचरण अभियान’ चलाएछन्। ‘सुरासुन्दरीदेखि भाग्ने पढाइमा ध्यान दिने’।
राजनीतिबाट पछिसम्म पनि बच्दै बच्दै हिँडेका उनले उसैबेला पनि त्यहाँ रहेको विद्यार्थी संगठनको नेपाली झुण्डलाई नटेरेको देखिन्छ। अनि कार्यक्रममा बोल्नुपर्ने ठाउँमा नेपाली बोलेर रसियनमा उल्था हुने गरेकोमा कोइरालाले टाकटुक रसियनमै दिहालेछन्। किनकी अरुले उल्था गर्दा जानीजानी वा नजानेर तलमाथि गरिदिन सक्थे। उनी एकदमै टाठो वा स्मार्ट त प्राय हरठाउँमा देखिन्छन्। त्यस्तै नटेर्न पनि माहिर।
आफुलाई चित्त नबुझेको ठाउँमा त कुरै छैन, नटेर्यो हिँड्यो। यो स्वभावले उनलाई नेपाल फर्किएर गंगालाल अस्पतालको बिउ रोप्दा, अनि हुर्काउने, बढाउने जिम्मेवारी लिँदा, यता टिचिङमा पनि बेलाबखतको सानोठूलो रस्साकस्स्सी हुँदा, थुप्रै भीआईपी, भीभीआईपी, शाही परिवारको चेपोमा पर्ने अवस्था हुँदा वा अनेक अरु अवस्थाबीच आफैंलाई बढी चिन्ने, सही साँचोमा ढाल्ने, प्रभावशाली बनाउने र चाहेको कुरामा जोडबल गर्नसक्ने बनाउँदै गयो। उनीप्रति पहिले नकारात्मक भएका, रिस साँधेका कयौंले उनको अडान, विज्ञता र स्पष्टतालाई अन्त्यत सम्मान गरेको र काममा भाँजो हाल्न छाडेको देखिन्छ। परिवारभित्र पनि उनको त्यही स्पष्टता र आत्मबलले गर्दा शायद जीवनसाथी सान्द्राको अझ बढी साथ सहयोग, ढाडस पाए। अभावबीच पनि परिवारले उनलाई डगमगाउन दिएन।
डा कोइराला सानोमा साह्रै निदाउँथे। पछिसम्म पनि जता बस्यो, उतै झुपुक्कै। तर पछि पढाइ, प्रशिक्षण, खप्टिएको प्रसाशन र चिकित्सकको जिम्मेवारीले उनको समय, खानपानमा ठुलो धावा बोल्यो। भविष्यमा यस्तै उकालै हिंडिरहनुपर्ने दिन आउने भएर होला सायद, निद्राको हिसाब किताब जीवनले पहिल्यै पूरा गर्न चाहन्थ्यो। दर्जनौँ प्रसंग छन्, मुटु बिरामीका खातिर उनले व्यक्तिगत सहजता त्यागेका, अन्य के कसो गर्न सकिन्छ, कसरी निशुल्क सेवा दिन सकिन्छ? भनेर नेतृत्व लिदै गएका। हुम्ला, जुम्लादेखि आउने बिरामीका हृदयविदारक दृष्टान्तहरु किताबमा छन्।
उनी बेलाबखत आफैँ पनि बिरामी परे। दुर्घटनामा पनि परे। तर प्रायः यस्ता घटना भने ‘ब्लेसिङ इन डिसगाइज’ हुन आए। पहिले ज्या भन्यो, पछि त्यसैले झन् सफल, झन् चाहेको मोडतिर धकेल्दिने। झन् कुरा सम्हालिने। उनको जीवन नियाल्दा कहीँ कतै अदृश्य शक्ति, कसैको आशिर्वाद त उनको पोल्टामै छैन् भन्ने पनि लाग्न थाल्छ। ठूलो अनिष्ट मडराएजस्तो हुने, तर कसोकसो फुत्त त्यसबाट निस्किहाल्ने, जीवन फेरि एकछिन शान्त।
कथामा, सिनेमामा, मान्छेको जीवनमा क्लाइमेक्स पक्कै हुने गर्छन्। दुई चार। तर डा कोइरालाको यात्रामा कति हो कति। मानव शरिर, त्यसमा पनि मुटुजस्तो अंगको शल्यक्रिया। अनि त्यो गर्नुछ, भर्खरै बन्दै गरेको सुविधाबीच, अभावबीच। अति अप्ठेरो र संवेदनशील बेलामा उनको विषेश उपस्थिति झनै चाहिने, र त्यस्तै, बिजोग पाराका मन्त्री, नेता, कार्यकर्ता आदिसँग भिड्दै भिड्दै प्रसाशनिक काममा अघि बढ्नुपर्ने बाध्यता। त्यसैले होला, पाइलैपिच्छे क्लाइमेक्स सिनले उनलाई भेटिहाल्ने। जीवनको त्यो रफ्तार साँच्चै लोभलाग्दो छ।
उनी बेलाबखत आफैँ पनि बिरामी परे। दुर्घटनामा पनि परे। तर प्रायः यस्ता घटना भने ‘ब्लेसिङ इन डिसगाइज’ हुन आए। पहिले ज्या भन्यो, पछि त्यसैले झन् सफल, झन् चाहेको मोडतिर धकेल्दिने। झन् कुरा सम्हालिने।
नेपालमा नेपाली डाक्टर आफैंले गरेको पहिलो ओपन हार्ट सर्जरी, ‘जुन डा कोइरालालाई जसरी पनि सुरु गर्नु थियो’ , झन् डा ‘दामोदर पोखरेलले दिएको जवाफपछि त ईख नै पलाएको थियो’, र अन्य होस्ठेमा हैँसे गर्ने सहकर्मी थिदै थिए। एक राधिका नाम गरेकी सात बर्षकी बालिकाको २०५३ साल फागुन १६ मा सफल भयो। यो नयाँ इतिहासले मिडियामा राम्रै ठाउँ पनि पायो, जसले सम्पूर्ण टिमलाई निकै हौसला प्रदान गर्यो। त्यसबेला गोरखापत्रले ‘नेपालीहरु पनि सक्षम छन्’ भन्ने शीर्षकमा समाचार लेखेको थियो, जसलाई डा कोइरालाले विषेश सम्झिएको देखिन्छ।
‘अमेरिकामा जे सिकेँ’ भन्ने शीर्षकमा उनले व्यावसायिकताको महत्व बुझेको कुरा लेखेका छन्। व्यावसायिकताबिच झिनामसिना कुरा, व्यक्तिगत तहमा उतिरीएर गरिने सवालजवाफ, गालीगलौज उता हुँदै नभएको जिकिर छ। त्यस्तै बिरामीलाई गरिने व्यवहार र परामर्शका कुरा छन्। नेपालका प्रायः डाक्टरहरु सायद उनी जसरी अमेरिका बसेर पढ्न, प्रशिक्षण गर्न वा सिक्न नपाएकैले होला, यस्तो व्यावसायीकतामा भने पटक्कै विश्वास गरेको देखिँदैन। बिरामीको कुरा ध्यान दिएर सन्नु, बुझ्नु, उनीहरुलाई सहि कुरा स्पष्ट भन्दिनुपर्यो भने आफू डाक्टर नै नभएको जस्तो, मान घटेजस्तो लाग्ने भएर हो कि, खासै त्यसो गरेको पाईंदैन। खैर, डाक्टरहरुले यो किताब पढे भने धुरुधरु रोलान्। यति धेरै मानव संवेदनासँग जोडिएको आफ्नो पेसा सम्झिएर राम्रा डाक्टर रुनेछन् भने नराम्रा डाक्टर बुद्धि फिरेर रुनेछन्।
किताबमा डा गोविन्द केसी र बारम्बारको अनशनको पनि सन्दर्भ छ। त्यस्तै दरबार हत्याकाण्डका घाइतेहरु, मृतकहरुको पहिलो देखभेट डा कोइरालालगायतका चिकित्सकसँग भएको थियो। मन्त्री, प्रधानमन्त्री, नेता, वरिष्ठहरुसँगको उनको तालमेल, घनिष्ठता वा दूरीबारे पनि किताबले संकेत गर्छ। आफू वा आफ्नो काममा बाधा हाल्दैनन् भने वा आफूसँग ‘ईप्प्रेस्ड‘ छन् भने सो व्यक्ति आफैंमा जति सज्जन वा दुर्जन भएपनि उनलाई त्यसले खासै फरक नपारेको बरु आफू मख्ख नै भएको जस्तो डा कोइरालाको वर्णनले देखाउँछ।
वरिपरी सन्त नै खोज्दै हिँडेको भए शायद उनले आफ्नो कामको रफ्तार वा लक्ष्यमा लगाम लगाउनुपर्ने पनि हुन सक्थ्यो होला। यसरी आफ्नो परिधीमा भने सही र स्पष्ट हुनु, अन्यको धेरै चासो गर्दै नहिंड्नु पनि उनको विषेशता नै मान्नुपर्छ र धेरैले यसबाट पक्कै शिक्षा लिन सक्छन्।
नेपालमा नेपाली डाक्टर आफैंले गरेको पहिलो ओपन हार्ट सर्जरी, ‘जुन डा कोइरालालाई जसरी पनि सुरु गर्नु थियो’ , झन् डा ‘दामोदर पोखरेलले दिएको जवाफपछि त ईख नै पलाएको थियो’, र अन्य होस्ठेमा हैँसे गर्ने सहकर्मी थिदै थिए। एक राधिका नाम गरेकी सात बर्षकी बालिकाको २०५३ साल फागुन १६ मा सफल भयो।
हुन त कुनै पनि पुस्तक कस्तो प्रकृतिको मान्छेले पढ्छ, कति विज्ञ, अनुशासित, कठोर वा कोमल मान्छको सम्पर्कमा आउँछ, त्यसले नै सो विवरणप्रतिको उसको हेराईमा फरक पार्छ। औसत नेपाली अलमस्त पारा, हल्लाको भरमा दौडिहाल्ने, अरुलाई सुझावको पोको दिन हतार तर आफु ऐना हेर्दै नर्हेने, अध्ययन कम गर्ने, सुसाशन चाहने तर आफैं नातावाद, कृपावादमा अल्झिन नछोड्ने, अनुसाशनभित्र नबस्ने हुँदा आम नेपालीले यो पुस्तक पढ्दा देशलाई निकै फाइदा गर्ने देखिन्छ। देशको कुनै कालखण्ड, इतिहास, प्रसाशनिक चित्र देखाउँदै कसरी कस्ता मान्छेले मात्रै परिस्थिति दिर्घकालीन सुधारतिर लैजान सक्छ भन्ने उनीहरुलाई हेक्का गराइदिन्छ।
यही बुझिदिउन् भन्ने अपेक्षा यस पुस्तकले आम विद्यार्थी, प्रसाशक, नेता, कार्यकतासँग पनि राख्छ। सही मान्छे सही ठाउँमा हुनु नै देशमा सुसाशन र विकासको सुनिश्चितता हो। गफ र लोकरिझ्याईंले, हठले वा बलले कहाँ देश बन्नु? सिंगापुरका आठ पत्रकार मिली ली क्वान युले मात्रै सिंगापुर बनाएका थिए त? अथवा यी आठ हस्तीहरू नभएको भए सिंगापुर कहाँ हुन्थ्यो होला र भन्दै सो देशका आठ उच्चस्तरीय प्रसाशकको ऐतिहासिक वर्णन पस्किएका ‘द लास्ट फुल्स‘ पनि सँगसँगै पढ्दै गर्दा, डा भगवान कोइरालामा ठीक त्यही स्तरको दक्षता, इमान्दारिता र इच्छाशक्ति देखियो। उनी ली क्यान युको टिममा हुन फिट मान्छे यता पो भएछन्।
अन्त्यमा, किताबको लेखन, प्रस्तुतिको तारिफ गरौँ। विमल आचार्यले गरेको शंशोधन र सम्पादनमा डा कोइरालाले दिएको धन्यवादमा अझै थप्दा न्याय नै हुन्छ। शब्दहरु खेर गएझैं, लेखक अल्मलिएझैं कहीँ लाग्दैनन्। केही सन्दर्भहरु ओभरल्यापिङ हुन्छन् तर तिनले कुरा बुझाउनै मद्दत पुर्याउँछन्, पट्यार लागाउँदैनन्। विषय अनुसारको शीर्षकमा पनि निकै चुस्तता, दुरुस्तता देखिन्छ। २५ हजार मूल्य त सातै प्रदेशमा बाल अस्पतालको योजनामा टेवा पुर्याउन राखिएको हो। ६ सयमा पनि पाइने यस पुस्तक नेपाललाई माया गर्ने सबैको हृदयमा बस्न, गुन्जिन लायक छ।



