काठमाडौँ- राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरवारमा सुरु भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समितिलाई अन्तिम रूप दिने तयारीका साथ बैठक सुरु भएको हो।
सुन तस्करीका विषयमा छानबिन गर्न दलहरू सहमत भएसँगै संसदको अवरोध अन्त्य गर्न पनि एमाले लचक बनेको छ।
मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी ओली नआएपछि स्थगित भएको थियो। मंगलबार नै दिउँसो २ बजे बैठक बसेर समितिको कार्यादेश, क्षेत्राधिकार र संरचना टुंगो लगाउने तयारी थियो।
सोमबार बेलुकी एमालेका सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे सैद्धान्तिक छलफल गरेको थियो।
मंगलबार दलहरूबीच बैठक बसेर छानबिन समिति बनाउने कुरा निष्कर्षमा नपुग्दा प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।
संसद् बैठक आज बस्ने कार्यसूची छ।


