पोखरा- नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड। पोखराका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाएका छन्।
होली नेपाली परम्पराको रङको पर्व। एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ। विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि। विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए। निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए।
होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताए। ‘निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु,’ उनले भने।
‘यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनपर्यो’, उनले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिए। उनीसँगका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए।
अन्नपूर्ण बेसक्याम्पमा जान आउनुभएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाए। आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उनी सोही रङसँग निकै रमाए। आफूले पनि रङ दले र अरुलाई पनि लगाइदिए।
त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आउनुभएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताए। लमजुङको बेसीशहरको एक स्कुलमा स्वयंसेवीका रुपमा काम गर्दै आउनुभएकी उन पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताए। ‘म खुसी छु, जीवनको पहिलो अनुभव हो हो, रङसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद’, लिसाले भने।
इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आउनुभएकी होल्यान्डकी एल्काले पनि रङ्गीविरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिए। उनले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताए।
उनले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गरे। रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताए।
‘कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ। यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो’, पौडेलले भने। हरेक संस्कार संस्कृतिको आआफ्नै महत्व हुने र त्यसको महत्व उजागार गर्नसके पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने उनको भनाइ थियो।
उनले पर्यटन प्रवर्द्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताए।
महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्याली निकालिएको थियो। रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उनले बताए।


