मकवानपुर– कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राती पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।
मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।
यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडक खण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए।
