२०८३ कार्तिक १२ गते बुधबार

हर्क साम्पाङमा बढेको अहंकार

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, भदौ ८
harka_sampang

काठमाडौं- बिरुवा, पानी र विवादका पर्याय बनेका छन्- हर्क साम्पाङ। धरान उपमहानरपालिकाको मेयरमा निर्वाचित भएको १६ महिनामा बितेको यो अवधिमा उनी प्रशंसाको उच्चतम बिन्दुमा पुगेपनि उनको ओह्रालो यात्रामा छ। श्रम संस्कृतिमा वृक्षरोपण अभियान र खानेपानीका क्षेत्रमा काम गरेर प्रसंशा बटुलेका उनी पछिल्लो समय विवादका दलदलमा जकडिँदै गएका छन्।

साम्पाङले मेयरमा निर्वाचित हुनुअघि नै आफ्नो अभियानको महत्वपूर्ण हिस्सा फेसबुकलाई पनि बनाएका थिए। छिनछिनमा स्टाटस अपडेट गरिरहनु उनको विशेषता हो। सुरुसुरुमा नचाहे पनि प्रशंसा बटुल्न सघाइदिने उनका स्टाटस अहिले चाहेर पनि आलोचना रोक्न सक्ने अवस्थामा छैनन्। अंहकार, पूर्वाग्रह र अराजकता उनले आफैँ स्टाटसबाट छरपष्ट पारिरहेका छन्।

छिनमै लेखिरहने स्टाटसमा श्रमका लागि आह्वान मात्र हुँदैन, अरुको क्षुद्र आलोचना पनि हुन्छ। अरुलाई आलोचना गर्न गिटार समाएर गीतको शैलीमा भिडियो बनाएर फेसबुकमा राख्छन्। कुनै कमजोरी औँल्याइदिए बिजाउने प्रतिक्रिया दिन्छन्। फेसबुकबाटै गाली गर्छन्। आलोचकहरुलाई उनले ‘गुईँठे’, ‘झोले’, ‘लखन्तरेउ’, ‘लठुवा’लगायतका शब्द प्रयोग गर्छन्।

बिहीबार मात्रै उनले देशभरमै आफ्नो आलोचना र विरोध भइरहेको भन्दै रोष व्यक्त गरे। डेंगु र आँखा पाक्ने रोग नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भनेर भइरहेको आलोचना गर्ने नमिठो जवाफ फर्काउन भ्याएका छन्। ‘नेपालभरि आँखा पाक्ने र डेङ्गु रोग फैलिएको छ! सबैले दोष चाहिँ मलाई नै लाइरहेका छन्! खुसी लाग्छ आज यो देशमा कसैको आलोचना र विरोध हुन्छ भने त्यो म हो! मलाई थाहा भयो मेरो उचाइ अब सबैले देख्ने गरी बढेछ,’ उनको स्टाटसमा लेखिएको छ।

आफ्ना योजना, तर्क र धारणा फेसबुक मार्फत नै राख्दै आएका उनले कुनै दिन आफूलाई गोली ठोकेर मारियो भने पनि अचम्म नमान्नु भनेका छन्। यसो भन्नुको पछाडि पछिल्लो समय भइरहेको उनको आलोचना नै कारक हो। ‘बुद्धलाई थुकेर लात्ताले हान्ने समाजमा मैले गरेको निष्ठापूर्ण राजनीति र देश बनाउने कर्मको बदलामा मलाई गालिगलौज त के नै हो र…,’ उनले भनेका छन्, ‘कुनै दिन मलाई गोलि ठोकेर मारिन्छ भने पनि खासै अचम्म नमान्नु तर कहिल्यै हार नमानी सत्य र न्यायको पक्षमा बोल्न र लड्न नछाड्नु ! मान्छे त जन्मन्छौँ मर्छौँ तर सत्य र न्याय नमरोस्!’

यी त हर्कले सामाजिक सञ्जालमा आलोचकलाई गर्ने गाली र अराजकतालाई संकेत गर्ने यी प्रतिनिधि स्टाटस मात्रै हुन्। उनले हरेक दिन यस्ता स्टाटस लेखिरहन्छन्। महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका राजेश विद्रोही मेयर साम्पाङसँग फरक मत राखेर बोल्न सक्ने स्थिति नै रहेको सुनाउँछन्। उनीसँग फरक मत राख्ने र आलोचना गर्नेहरु विरुद्ध संगठित हमला हुने गरेको उनी बताउँछन्।

‘उहाँले फेसबुकलाई नै स‌ंसार बनाउनुभएको छ। उहाँसँग फरक मत राख्ने वा आलोचना गर्ने स्थिति नै छैन। कसैले त्यसो गरिहाले फेक आइडीबाट छाडा शब्दसमेत लेखेर सहनै नसक्ने गरी गाली आउँछन्,’ उनी भन्छन्, ‘मिडियाले उहाँको प्रस‌‌ंशा गर्छ। तर यहाँ अराजकताको स्थिति छ। तपाईँहरुले बाहिरबाट हेर्दा धरानमा जे देख्नुहुन्छ, स्थिति त्यस्तो होइन।’

प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने मेयर साम्पाङमा अहमता बढेको बताउँछन्। साम्पाङको व्यवहार अनौठो र अपत्यारिलो खालको भएको उनको भनाइ छ। ‘सम्पाङको व्यवहार अनौठो र अप्त्यारिलो खालको छ। उनमा अहमता बढेको छ। बोल्न जान्दैनन्,’ न्यौपाने भन्छन्, ‘धरान नगरप्रमुख म हुँ। म भन्दा ठूलो को छ? भन्छन्। आफ्नो ठाउँमा अरु मान्छे पनि ठूला छन्। व्यवहारिकता छैन। बोली र व्यवहार विवादित छ।’ धरानलाई पानी खुवाउन गरेको प्रयास र श्रम संस्कृतिको थालनी प्रसंशनीय रहेको उनले बताए।

विवाद र आलोचना
पछिल्लो समय मेयर साम्पाङ २ विषयका कारण चर्चा र आलोचनाको केन्द्रमा छन्। पहिलो-निजी जग्गामा वृक्षरोपण र घर भत्काउने धम्की। दोस्रो- डेंगुका विषयमा दिएको अभिव्यक्ति/स्टाटस। डेंगुसम्बन्धी विषय भन्दा पनि उनको आलोचना निजी जग्गामा वृक्षरोपण गरेको विषयमा भइरहेको छ। साउन ६ गते निजी जग्गामा वृक्षरोपण गरेर विवादमा आएका साम्पाङ सोही जग्गाधनीको ‘घर भत्काइदिन्छु’ भन्ने चेतावनी दिएका कारण थप विवादमा तानिएका छन्।

भदौ ४ गते (सोमबार) उनी धरान-४ छोटी मोरङस्थित सर्दु जलाधार क्षेत्रमा निजी जग्गामा वृक्षरोपण गरेको क्षेत्रमा पुगेका थिए। साम्पाङले धरान-१ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको जग्गामा जबरजस्ती वृक्षरोपण गरेका थिए। मेयरसँग अधिकारी र उनकी पत्नी रोजिना अधिकारीको नोकझोक परेको थियो। अधिकारी दम्पतीलाई उनले धम्की दिए, ‘विरुवा उखेलेको रहेको रहेनछ। नत्र घरमा डोजर लगाइँदिन्थेँ।’ सोही कारण अधिकारी दम्पती र साम्पाङबीच नोकझोक परेको थियो। यो नोकझोकको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

मेयर साम्पाङले जबरजस्ती निजी जग्गामा वृक्षरोपण गर्नु र अधिकारी दम्पतीको घर भत्काइदिने धम्की दिनुको पछाडि सर्दु जलाधार क्षेत्रको जग्गा विवाद कारण हो। यो क्षेत्रमा अधिकारी दम्पतीले ६ कठ्ठा जमिन किनेर होटल र प्याराग्लाइडिङ सञ्चालन गरिरहेका छन्। तर मेयर साम्पाङले भने उक्त जमिनलाई सरकारी भन्दै वृक्षरोपण गरेका थिए। वृक्षरोपण गरेकै दिन पनि मेयर र अधिकारी दम्पतीबीच विवाद भएको थियो। अधिकारी दम्पतीका अनुसार उनीहरुले उक्त जग्गा २०७२ ताका हेमचन्द्र घिमिरेसँग किनेका हुन्। तर, मेयरले भने अधिकारी दम्पतिलाई भू-माफियाको आरोप लगाउँदै आएका छन्।

मेयर साम्पाङले आफ्नो जग्गामा जबरजस्ती विरुवा रोपेपछि अधिकारी दम्पति उच्च अदालत विराटनगर पुगेको थियो। साउन ११ गते न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै जलाधार क्षेत्रको जग्गाको मुद्दा अन्तिम किनारा नलागेसम्म अनाधिकृत रुपमा प्रवेश नगर्न, वृक्षरोपण कार्य नगर्न/नगराउन भनेको थियो। तर अदालतको आदेश विपरीत मेयर साम्पाङ दलबलसहित सोमबार आएको र घर भत्काउने धम्की दिएको अधिकारी दम्पति बताउँछन्।

अदालतले आदेश दिइसकेपछि पनि घर भत्काउछु भन्दै मेयरले निहुँ खोजेर धम्काएको र अदालतमाथि धावा बोलेको दाबी रोजिनाको छ। यो जग्गा विवादबारे सर्वोच्चमा मुद्दा छ। गत माघ २४ गते न्यायाधीश आनन्दमोहन भट्टराई र सुस्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको थियो। अदालतले विवाद निरुपण नहुँदासम्म कित्ताकाट, हस्तान्तरण, नक्सापास वा स्वरूप परिवर्तन हुन नपाउने गरी यथास्थितिमा राख्न आदेश जारी गरेकाले मुद्दाको अन्ति छिनोफानो नभइसकेको छैन। तर मेयर साम्पाङले हालका जग्गाधनीहरुलाई भू-माफिया भन्दै वृक्षरोपण गर्ने र घर भत्काइदिने धम्की दइरहेका छन्।

अधिकारी दम्पतिसँगको विवादलाई उनले आफू माथिको दुर्व्यवहारका रूपमा अर्थ लगाएका छन्। सोमबारको घटनालगत्तै उनले आफूमाथि बारम्बार दुर्व्यवहार भएको भन्दै उजुरी हाल्ने, प्रहरीले रोजिनालाई पक्राउ नगरे पत्रकार सम्मेलन चेतावनी फेसबुकमार्फत दिएका थिए। त्यसयता उनले आफूमाथि दुर्व्यवहार भएको भनेर सामाजिक लेख्ने क्रम जारी राखेका छन्। उनको तर्क छ- भोलि भानुचोक पनि मेरो भन्दै धनीपुर्जा देखाउँदै कोही आउँछ भने धरानबासीले मुखमा बुजो लाएर बस्छन् कि के गर्छन् त?

त्यसो त उनले बेलाबेला अनौठा तर्क गर्ने गरेका छन्। साउन ११ गते सोही जग्गाबारे अदालतको आदेश दिँदा आक्रोश पोख्दै नमान्ने बताएका थिए। ‘एउटा कुरा क्लियर भएर बुझ्नू, सर्वोच्चले नै निर्णय गरेर जलाधार व्यक्तिलाई दे, सरकारी जग्गा सुम्पिदे भन्छ भने पनि म मान्नेवाला छैन। देश बेच्ने अधिकार कसैलाई छैन,’ उनले लेखेका थिए। साउन ११ गतेसम्म अदालतको आदेश नमान्ने बताएका सम्पाङलाई भदौ पहिलो सातादेखि भने राज्य, कानून र अदालत चाहिएको छ। उनले अधिकारी दम्पतीले दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएका छन्। फेसबुक स्टाटस मार्फत राज्य र कानून खोजिरहेका छन्। ‘उहाँ आफूविरुद्ध आयो भने अदालत मान्दिनँ भन्नुहुन्छ। आफूलाई गाह्रो पर्दा अदालत र कानून खोज्नुहुन्छ,’ विद्रोही भन्छन्।

अधिकारी दम्पतिसँगको विवाद भएलगत्तै भनेका थिए, ‘यो देशमा राज्य सरकार छ छैन? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन! त्यसपछिको अराजकताको जिम्मेवारी कसले लिने? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने?’

स्थानीय सरकारको प्रमुख अदालतको आदेशलाई धावा दिँदै नागरिकको घर डोजर लगाइदिन्छु भन्दै चेतावनी दिनु शोभनीय होइन। मेयरको जिम्मेवारी अराजकता फैलन नदिने वा फैलिए रोक्ने हो। तर अराजक राज्य निर्माणको अभियान साम्पाङले थालनी गरेको टिप्पणी/चिन्ता गर्नेहरू थुप्रै धरानबासी हुन थालेका छन्।

यो विवादबारे साम्पाङले फेसबुकमा के-के लेखे?
-म माथि बारम्बर भएको दुर्व्यवहार विरुद्ध उजुरी दिएको छु ! हेरौँ प्रहरीले के गर्दो रैछ ! अन्यथा पत्रकार सम्मेलन गर्नेछु ! लोकतन्त्र छ छैन देशमा बुझ्नु पर्ने हुन्छ ! जय देश !

-प्रहरीले तुरुन्त एक्सन लिओस् ! अन्यथा…

-यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरु विरुद्ध नै मुद्दामा जानुको विकल्प रहनेछैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कस्ले लिने ? अनि, नागरीकको आन्दोलनलाई कस्ले सम्बोधन गर्ने?

-चोर, फटाहाहरुको पछि नलाग है भाइ भतिजा भान्जा हो !

-यो देशमा प्रहरीको काम के हो र प्रहरी के का लागि ? त्यो कुरा बहसको विषय नबनोस् ! राज्य छ त ? भन्ने विषयमा बहस नचलेको राम्रो !

-यो आउने भदौ १५ गते धरान १३ को जिरो पोइन्ट देखि भानुचौक सम्म भ्रष्टाचार र भ्रष्टाचारीहरु विरुद्धको आम -याली हुनेछ ! सातो पुत्लो उडाउने मास उठाउनु पर्ने भो देश सिध्याउनेहरुको विरुद्धमा ! अहिले देखिनै तयारी गरौँ ! भेला हुने समय दिनको १ बजे !

-कति दिन सम्म फरार हुने हो र ? ६ महिना सम्म ?

-मैले यो कुर्सी बिरासतमा पाएको होइन ! सार्बभौम धराने जनताले काम गर्न पठाएको मान्छे हो म ! एक पैसा भ्रष्टाचार गर्दिन ! अनावश्यक कुरा लिएर आउँछ भने कोही कसैलाई टेर्दिन ! हो म यस्तै छु ! यतिको मेयर चाहिन्छ धरानलाई ! चानचुनेले हुँदैन !

-अस्तिको दिन अभद्र बोलि बोल्नेहरुलाई कसैले देखे प्रहरीलाई या मलाई या मेरो सचिवलाई खबर गर्नु होला !

-यो आउने भाद्र १५ गते शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध सचेतना -याली ! सबै जना तयार हुनु होला ! नेपाल भरि संदेश जाने गरीको भेला होऔँ !

-बुद्धलाई थुकेर लात्ताले हान्ने समाजमा मैले गरेको निष्ठापूर्ण राजनीति र देश बनाउने कर्मको बदलामा मलाई गालि गलौज त के नै हो र… कुनै दिन मलाई गोलि ठोकेर मारिन्छ भने पनि खासै अचम्म नमान्नु तर कहिल्यै हार नमानी सत्य र न्यायको पक्षमा बोल्न र लड्न नछाड्नु ! मान्छे त जन्मन्छौँ मर्छौँ तर सत्य र न्याय नमरोस !

हर्क धरानका नगरप्रमुख हुन्। यसको अर्थ उनी धराने जनताका अभिभावक हुन्। उनको जिम्मेवारी नगरभित्रको समस्या समधान गर्ने हो, चर्काउने होइन। तर उनी सामाजिक सञ्जालमा आक्रोशको अवस्था पैदा गर्ने गरी लेखिरहनुले उनले मेयरको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको देखिँदैन। उनमा विरोधाभास पनि छ। अधिकारी दम्पत्तिसँगको विवादका बारेमा बुधबार उनले पत्रकार सम्मेलन गरे। जहाँ उनले विधिको शासनको कुरा गरेका छन्। अधिकारी दम्पतिलाई अदालत जान भनेका छन्। तर उनले पत्रकारसम्मेलनमा बोलिरहँदा अदालतको आदेश विपरीत घर भत्काइदिन्छु भनेको विषय भने भुलेका छन्। पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘नगर प्रमुखलाई पख्लास् तलाईँ भनेर कराएको देख्छु। म त छक्क पर्छु। भन्न खोजेको के हो? म धरानको बहुमतप्राप्त मेयर हो,’ उनले भनेका छन्, ‘उसले सिस्टमलाई च्यालेन्ज गरेको होइन? चित्त बुझ्दैन भने कोर्टमा आजोस्। कोर्टले पनि जे पायो त्यही निर्णय गर्न हुँदैन। कोर्टले यो देशलाई खारेज गरौँ भन्यो भने मान्नेवाला छैन।’

डेँगु नियन्त्रणमा छैन समन्वय
डेँगु नियन्त्रणमा उपमहानगरले योजनाबद्ध काम नगरेको आरोप लागिरहेको छ। साम्पाङले हरेक साँझ लामखुट्टेको लार्भा मार्ने अभियान चलाएका छन्, लार्भा मार्न आह्वान पनि गरिरहेका छन्। तर, धरानमा डेंगु संक्रमण बढ्दो छ। तर यसमा उनको मात्र एकल प्रयासले डेँगु नियन्त्रण हुँदैन।

उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। तर मेयर साम्पाङले भने डेंगुका कारण २ जनाको मात्रै मृत्यु भएको दाबी गरेका छन्। अन्य १० जनाको मृत्यु दीर्घरोगका कारणले भएको उनको तर्क छ। त्यसो त उनले विद्यालयहरुलाई पत्र पठाएर लार्भा मार्न विद्यार्थी परिचालन गर्न निर्देशन दिएका छन्। साउन ३० गते उपमहानगरभित्र सामुदायिक र संस्थागत विद्यालयहरुलाई पत्र लेख्दै हरेक साताको मंगलबार र शुक्रबार ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानका लागि विद्यार्थी परिचालन गर्न निर्देशन दिएका थिए। लार्भा मार्न विद्यार्थी परिचालन गर्न निर्देशन दिएका मेयर सामाजिक संघसंस्था, नागरिक समाज लगायतसँग भने समन्वय नगरेको महेन्द्र बहुमुखी क्याम्पसका अध्यापक राजेश विद्रोही डेंगु नियन्त्रणका लागि मेयरले समन्वय नै नगरेका कारण प्रकोप फैलिइरहेको बताउँछन्।

‘डेंगुका कारण अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ। केही साता अघि मेयर साबले पत्रकार सम्मेलन गरी ८ जना दीर्घरोगले मरेका हुन्, २ जनाको मात्रै डेंगुले मृत्युभएको हो भनेर अभिवक्यक्ति दिनुभएको थियो। जतिबेला १० जनाले ज्यान गुमाएका थिए,’ विद्रोही भन्छन्, ‘यो गैरजिम्मेवार अभिव्यक्ति हो। लार्भा नष्ट गर्न विद्यार्थी परिचालन गर्न विद्यालयलाई पत्र लेख्नुभएको छ। नागरिक समाज, समाजिक संघसंस्था, राजनीतिक दल त छाडौं वडा तहमा समेत समन्वय गर्नुभएको छैन। एक्लै हिँड्न खोज्दा प्रकोप फैलँदो छ।’

धरानका पुराना पत्रकार हर्ष सुब्बा योजनाबद्ध काम नहुँदा डेँगुको समस्या विकराल बन्दै गइरहेको बताउँछन्। ‘लार्भा खोज्न विद्यार्थी पठाउनु भनेर पत्र लेख्नु भएको छ। योजनाबद्ध तरिकाले काम भने गर्नु भएको छैन। डेंगु बढिरहेको छ। नगरपालिकाकै अंगबीच तालमेल छैन। वडाध्यक्षहरु आ-आफ्नै तालमा छन्,’ उनी भन्छन्।

विवाद चर्काएर क्षमायाचना!
मेयर साम्पाङ यसअघि पनि विवादमा घेरिएका छन्। आलोचकहरुमाथि स्टाटस मार्फत छेडखानी गरिरहने साम्पाङले मंसिर २७ गते एउटा स्टाटस लेखेका थिए। जसका कारण उनी विवादको भ्रुंग्रोमा परे। उनले लेखेका थिए, ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ। बल होइन, बुद्धि लगा चमारे बुद्धि लगा।’

यो स्टाटस माथि दलित समुदायका अगुवाहरूले पनि आपत्ति मात्रै जनाएनन् माफी माग्न माग गरे। तर साम्पाङले एकपछि अर्को स्टाटस लेख्दै माफी नमाग्ने अड्डी कसिरहे। उनले लेखेका थिए, ‘आज अचम्म लाग्यो, कोही यति सानो मनको पनि हुँदा रहेछन्।’ उनको अर्को स्टाटस थियो, ‘गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द। त्यसमा आपत्ति मान्नुपर्ने केही छैन। आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्गित गरेको होइन। फूल बनेर हेरौं, काँडा बनेर होइन।’ आलोचना बढ्दै जाँदा उनले फेसबुकमा सोधे, ‘चमारे भन्ने कुनै थर छ र? चमार भन्ने पो छ त होइन र? नहुने कुरा नगरौं है साथी हो!’

आलोचना चुलिँदै गयो। तर उनी भुल सुधारका पक्षमा देखिएका थिएनन्, थप लेख्दै थिए, ‘मैले बोलेको कुरा दलित समुदायले आफूलाई भनेको जस्तो गरी लिनु हुँदैन है साथी हो। म त दलित भन्ने शब्द नै हटाउनुपर्छ भन्ने मान्छे। काँ यो शब्दलाई पालेर बस्नु भन्या।’ उनले आलोचकलाई ‘गुइँठे’ भन्न थाले। उनकै कार्यपालिकामा रहेका तीन जना दलित सदस्यहरूले उनलाई लिखित रूपमै ध्यानाकर्षण गराएर क्षमायाचना गर्न माग गर्नुपरेको थियो। तर उनले माफी नमाग्ने भन्दै जवाफ फर्काएका थिए, ‘म झुक्दै नझुक्ने नेपालको छोरो भन्ने गीत सुन्नुभएको छ नि? हो, त्यो मान्छे मै हुँ।’

राष्ट्रिय दलित आयोगले नै क्षमायाचना गर्न भनेपछि उनी थप आक्रोशित बनेका थिए। उनले आयोगप्रति आक्रोश पोख्दै भनेका थिए, ‘कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन। सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगर प्रमुख हुँ। उसको कारबाहीको माग त उस्स!’ आयोग माथि उनले समाज भाँड्न खोजेको आरोप समेत लगाएका थिए, ‘मैले १० चोटी कुनै जाति विशेषलाई लक्षित गरेर लेखेको होइन भन्दा मनन नगर्ने राष्ट्रिय दलित आयोगको फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत देखिन्छ। यो आयोगविरूद्ध सम्पूर्ण समानता चाहने न्यायप्रेमी नेपालीहरूलाई एकजुट बनी उत्रन पर्ने बेला आएको छ। जबसम्म यस्ता तत्व समाजमा रहन्छ तबसम्म विभेद र द्वन्द्व रहन्छ।’

यो विषयमा धरानका ६ राजनीतिक दलका नगर समितिहरूले हर्कको गतिविधिको आलोचना गरेका थिए। चौतर्फी विरोध भएपछि मात्र उनी क्षमायाचना गर्न बाध्य भए। उनले विज्ञप्ती निकाल्दै भनेका थिए, ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु।’

धार्मिक र सामाजिक सद्भाव भड्कने खतरा
धरानमा अहिले सामाजिक र धार्मिक सद्भाव भड्कने खतरा देखा परेको छ। खासगरी धरान–१४ विजयपुरस्थित सिंहदेवी चोकमा मन्दिरको अगाडि चर्च निर्माणको विषय र गोरु काटेर भोज खाएको विषयले अहिले तनावको स्थिति पैदा भएको छ।

धरान–१४ विजयपुरस्थित सिंहदेवी चोकमा रहेको बालगोपाल मन्दिरको अगाडि चर्च निर्माण भएको विषयले गत साउनमा ठूलै विवाद निम्त्याएको थियो। नक्सा पास र सर्जमिनसमेत नगरी चर्च निर्माण भएको थियो। सुरुमा पार्टी प्यालेस बनाउने भनेर निर्माण सुरु गरिए पनि पछि चर्च बनाइएको थियो।

मन्दिरको छेउमा देखिएको चर्च।

स्थानीयले चर्च निर्माणका लागि उपमहानगर र मेयर साम्पाङले संरक्षण गरेको आरोप लगाइरहेका छन्। साम्पाङले भने यो विवाद अदालतले सुल्झाउने बताएका थिए। तर उनले विवाद चर्किरहँदा हिन्दू धर्मावलम्बीमाथि पटक-पटक आक्रोश पोखेका थिए। उनले त्यो बेला भनेका थिए, ‘मेरो प्रतिवाद हिन्दूहरुसँग होइन। अतिवादी झोलेहरुसँग हो, जो धर्मलाई हतियार बनाएर समाज भाँड्न चाहन्छन्।’ उनले हिन्दूको विरुद्धमा बोल्न बाध्य नबनाउन चेतावनी समेत दिएका थिए। ‘अहिलेसम्म सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन है यो फुच्चे केटाको। विचार चोंगे,’ उनले भनेका थिए।

चर्च निर्माणको विवाद सेलाउन नपाउँदै धरानमा गोरु काटेर भोज खाएको घटना सार्वजनिक भएको थियो। यो घटनाले धरानमा थप विवाद बढेको छ। गोरु काटेको अभियोगमा पक्राउ परेका विन्द्रा कुमार राई र राजन परियार थुनामुक्त भएको खुसीयालीमा सो भोज लगाइएको थियो। आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले भोजको आयोजना गरेको थियो। नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद-२७ मा गाईगोरु काट्न नहुने उल्लेख छ। गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ। गोरु काटेर भोज खाएको विषयले संघीय संसद्‍मा समेत प्रवेश पाइसकेको छ। यो विषयको विवाद थप चर्कने देखिन्छ। चर्च निर्माण र गौहत्याको विरोधमा शनिवार श्री वैषणव परिद् नेपालले स्वधर्म-गोरक्ष शान्ति र्‍याली निकाल्ने तयारी गरेको छ।

मेयर साम्पाङले भने र्‍याली आयोजना गरेर अशान्ति मच्चाउन खोजिएको आरोप लगाएका छन्। उनले धरानलाई अनावश्यक क्रीडास्थल बनाउन नदिने भन्दै सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले र्‍याली आयोजना गरेर बाहिरबाट धरान आएर लड्ने, भिड्ने कुरा गरेको सुनिरहेको बताएका छन्। उनले भनेका छन्, ‘यो ९ गते धरान बाहिरबाट धरान आएर लड्ने भिड्ने कुरा गरेको सुन्दैछु ! खबरदार… यो धरान कसैको रेस्लिङ अर युएफ्सी रिङ होइन ! हामी धरानेहरु मिलेर बसेका छौँ! अशान्ति मचाउन पाइन्न है! हाम्रो सहरलाई अनावश्यक क्रिडास्थल बनाउन दिंदैनौँ! सबैले संयम अपनाउनु होला!’

धरानका पूर्वमेयरहरुले भने धरानबासीमा चारबुँदे आह्वान गर्दै धार्मिक तथा सांस्कृतिक विवादलाई छलफलका माध्यमबाट समाधान गर्न आग्रह गरेका छन्। पूर्वमेयरहरु कुमारबहादुर कार्की, तिलक राई, मनोजकुमार मेन्याङ्बो, मीनकुमार सुब्बाले विवाद समाधानका लागि शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न अपिल गर्दै सामाजिक सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिक स्तरबाट सद्भाव र्‍याली निकाल्ने बताएका छन्।

धरानका पुराना पत्रकार सुब्बा धरानको सामाजिक र धार्मिक सद्भाव बिग्रने अवस्था आउनुमा मेयर साम्पाङको थोरबहुत भूमिका रहेको बताउँछन्। ‘क्रिश्चियन च्यापेका छन्। मन्दिर अघि चर्च बनाए। गोरु काटेको कुरालाई पनि उनले ‘प्रमोट’ गरेजस्तो देखिन्छ। उनकै गतिविधिका कारण धरानको सामाजिक सद्भाव र धार्मिक सद्भाव बिग्रने स‌‌ंकेत देखा परेका छन्,’ सुब्बाले भने।

धरानको मेयर बनेपछि साम्पाङले खानेपानी ल्याउने सन्दर्भमा गरेको कामको सबैले प्रसं‌शा गर्छन्। मेयर साम्पाङ आएपछि धरानमा भालु खोला, सर्दु, लर्दु निसाने र कोकाहबाट पानी ल्याइएको छ। जसका कारण उनको प्रसंशा हुने गरेको छ। यस्तै वृक्षरोपणको उनको अभियानलाई पनि धेरै प्रसंशा गरेका छन्। उनले श्रम संस्कृतिको विकास गरेका छन्। जुन सकारात्मक भएको प्रा.डा न्यौपाने बताउँछन्। ‘पराम्परागत ढर्रा छाडेर उनले नयाँपन दिन खोजेका छन्। पानी र श्रम संस्कृतिको कुरा राम्रो छ,’ न्योपाने भन्छन्।

यद्यपि मेयर साम्पाङ भने एक्लै अघि बढ्न खोजिरहेका छन्। उनले भन्ने गरेका छन्, ‘विधिको शासन, नीतिको शासन। व्यक्तिको होइन। सरकारको शासन हुन पर्‍यो।’ तर वडाध्यक्षहरुसँग उनको सुमधुर सम्बन्ध छैन। सुरुवातदेखि नै मेयर साम्पाङ र वडाध्यक्षहरुकाबीचमा शीतयुद्धको स्थिति छ। साम्पाङ एकल निर्णयका भरमा अघि बढ्न खोजेको वडाध्यक्षहरू बताउँछन्।

‘धरानमा थुप्रै समस्या छन्। शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, धार्मिक र प्रकोपको समस्या देखा परेका छन्। तर मेयर साबले समन्वयकारी भ‌ूमिका निर्वाह गर्नुभएको छैन,’ धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले भने। नगरपालिका साझा निर्णय र सहकार्यमा चल्नुपर्ने भएपनि कतिपय निर्णयबारे जानकारी समेत नहुने गरेको उनी बताउँछन्। ‘नगरपालिका साझा निर्णय र सहकार्यमा चल्नुपर्छ। कानून र विधिमा चल्नुपर्छ। तर कतिपय निर्णय हामीलाई थाहा हुँदैनन। सोसल मिडियामा मेयर साबले लेखेपछि थाहा हुन्छ,’ उनी भन्छन्, ‘नगरपालिकाले के गर्दैछ भनेर सोध्नुभयो भने मसँग जवाफ छैन। किनकी मलाई केही थाहा छैन।’

अध्यापक विद्रोही वृक्षरोपणलाई मात्रै साम्पाङले प्राथमिकतामा राख्दा सामाजिक, आर्थिक क्षेत्र भने आझेलमा परेको बताउँछन्। ‘सामाजिक र आर्थिक क्षेत्रमा ध्यान छैन। वृक्षरोपण भनेर कुदेर मात्र केही हुँदैन। सामाजिक आर्थिक क्षेत्रमा ध्यान नदिँदा निराशा बढ्दो छ,’ उनी भन्छन्, ‘मेयर साबले फरक मतलाई सुन्नुपर्छ। आलोचना सहन पर्छ। आफ्नो आलोचा हुँदा नागरिकको ध्यान भड्काउन इटहरीमा लगेर बोर्ड गाड्न छाड्न पर्छ।’

पुराना पत्रकार सुब्बा धरान उपमहानगरमा नीति र थितिको खडेरी लाग्दै गएको बताउँछन्। नीतिगत निर्णयको सट्टा मेयरले आफ्नो विवेकका भरमा निर्णय गर्ने गरेको उनको तर्क छ। ‘अधिकार क्षेत्र नबुझेको भनौं कि के भनौं नीतिगत निर्णय गरेर काम भइरहेका छैनन्। नीति नबनाइ गरेका काम दीर्घकालीन हुँदैनन्। अहिले मेयरलाई लागेका कुरा भइरहेका छन्,’ उनी भन्छन्, ‘नगरपालिकाको अर्थतन्त्र खस्कँदो छ। बजेट घटेको घट्यै छ। पहिला वडामा २ करोड बजेट जान्थ्यो। यसपालि ७५ लाख रुपैयाँ बजेट गएको छ। यसको समीक्षा गर्न पर्दैन?’

व्यापार/व्यवसाय गर्नेहरु माथि साम्पाङले दलबलसहित गएर अपमान गर्ने गरेका कारण व्यवसायी पलायन हुने स्थिति रहेको उनी बताउँछन्। ‘व्यापार, व्यवसाय गर्नेहरु पलायन हुने स्थिति छ। सामाजिक स‌ंस्थाहरूमाथि गालीगलौज गर्ने काम भइरहेको छ। मेयरलाई जे मन लाग्छ त्यही गर्छन्। शिक्षा र स्वास्थ्यको स्थिति पनि ठिक देखिँदैन। यही स्थिति रहे धरान ५० वर्ष पछाडि पर्ने देख्छु म,’ सुब्बाले भने।

प्रकाशित: २०८० भदौ ८ गते शुक्रबार १२:१६
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना