काठमाडौँ– नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता १५ भदौमा काठमाडौंमा हुने भएको छ।
नेपालमा पहिलोपटक हुन लागेको एसियालीस्तरको प्रतियोगितामा २५ राष्ट्रका तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रतियोगिता याक एन्ड यती होटेलमा हुनेछ। जसमा पुरुषतर्फ २८ र महिलामा १६ विधा समावेश छन्। यसैगरी, मिक्स एक गरी कुल ४५ विधामा प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन्।
सात दिनसम्म चल्ने प्रतियोगिताको १६ भदौमा म्यानेजर्स मिटिङ, निर्णायक मिटिङ, डोपिङ सेमिनार तथा एसियाली कंग्रेसको आयोजना हुनेछ। १७ भदौमा खेलाडीहरूको तौल तथा हाइट मेजरमेन्टसँगै उमेरसमूहको जाँच गर्ने कार्य हुनेछ।
आधिकारिक रूपमा १८ भदौमा प्रतियोगिताको उद्घाटन हुनेछ। प्रतियोगिताको पहिलो दिन १६ विधामा प्रतिस्पर्धा हुनेछ। जसमा नेपाली १४ खेलाडीले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन्। १९ भदौमा २० विधामा प्रतिस्पर्धा हुनेछ।
यस दिन २४ नेपाली खेलाडीले १७ समूहमा प्रतिस्पर्धा गर्नेछन्। २० भदौमा नौ विधामा प्रतिस्पर्धा हुने र पाँचजना नेपाली खेलाडीले चारवटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरी १० समूहका पहिलो हुने खेलाडीबीचको प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ।


