काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिको उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।
शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने सबै समितिमा उम्मेद्वारी दिने निर्णय भएको जानकारी दिए।
उनले भने, ‘समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने टुंगो भएको छ।’
प्रमुख सचेतक परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको जानकारी पनि दिए।
