काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लंघन भएकोले त्यसप्रति नेकपा एसले स्पस्ट धारणा राख्नुपर्ने बताएका छन्।
संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भैरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएको आधारमा गलत कामको शिकार पार्टी बन्न नहुने बताए।
‘हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन,’ खनालले भने।
शनिबार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को दोस्रो पार्टी पुर्नगठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे।
‘संविधानको रक्षा गर्न बनेको जुन गठबन्धन छ, त्यसैले नै संविधानको उल्लंघन गरेको छ । कोशीमा मात्रै हेर्नु न दुई चोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ,’ खनालले भने। उनले उक्त विषयमा नेकपा एसको धारणा स्पस्ट हुनुपर्ने पनि बताए।
त्यस्तै नेता खनालले जनताको दैनदिनको समस्यासँग एकाकार भएर पार्टीलाई जनसंघर्षसँग जोडेर वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने धारणा पनि राखे। उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए।


