काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। यसअघि ३२ साउनदेखि निरन्तर सुनुवाइ हुने भनिए पनि पीडितकी आमाका दुई वटा जन्मदर्ता देखिएपछि अदालतले मिति यकिन गर्न आदेश दिएपछि स्थगित भएको थियो।
किशोरीमाथि बलात्कार आरोप लागेको मुद्दामा सन्दीपले पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठाइएको छ। सर्वोच्च अदालतले १५ फागुनमा फास्ट ट्रयाकबाट मुद्दाको टुंगो लगाउन आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ लगातार हुन सकेको छैन।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक नाबालिगले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।
२० असोजमा नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेपछि अदालती प्रक्रिया थालिएको थियो। काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो।
सन्दीपले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। २८ पुसमा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न नपाइनेलगायत सर्त राखेर सन्दीपलाई २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो। त्यसपछि सन्दीप उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।
क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले १२ फागुनमा सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।


