काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गत ९ वटा विषयगत समितिको सभापति सर्वसम्मत रूपमा चयन भएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सर्वसम्मत हुन नसकेको हो।
उक्त समितिका लागि जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ। उक्त समिति सभापति चयनका लागि चुनाव नै हुने भएको छ।
सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह सर्वसम्मत भए। उनीहरू एमालेका सांसद हुन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजू राणा देउवा सर्वसम्मत हुँदा कांग्रेसकै रामहरि खतिवडा राज्य व्यवस्था समिति सभापति बने। सन्तोष चालिसे अर्थ समितिको सभापतिमा सर्वसम्मत भएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी सर्वसम्मत भए।


