काठमाडौँ- ललितपुरको सैँबु भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि कार्यालय र निवासको उद्घाटन गरिएको छ। सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि आवास र कार्यालयसहितको आलिसान संरचना काठमाडौँ उपत्यकामा नै खडा गरिएको हो। संघीय राजधानीमा करोडौँ खर्चेर बनाइएका यस्ता संरचनाले संघीयताप्रति शासकको मानसिकतालाई प्रश्न ठड्याएको छ।
नवनिर्मित भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धाटन गरेका छन्। विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्ष लगाएर निवास भवन बनाइएको हो।

सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक/एक भवन एउटै कोलोनीमा निर्माण गरिएको छ।
सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ। अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित रु ८५ करोड रहेको मन्त्रालयले जनाएको छ। केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो।
सो अवसरमा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए। सोही अवसरमा प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण गरेका थिए।

समारोहमा सङ्घीय मन्त्रीहरु, सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्री, मुख्यसचिव, ललितपुर महानगरपालिकाका प्रमुख, ललितपुरका जनप्रतिनिधि उच्च सरकारी अधिकारीलगगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताए। ‘स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु,’ उनले भने।
प्रधानमन्त्री दाहालले प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने जिकिर गरे। उनले भने, ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन सुन्दर छ, भैँसेपाटी ठाउँ पनि रमाइलो छ, मैले यसलाई भवन र स्थानको कुरा हैन, हाम्रा प्रदेशहरूलाई प्रभावकारी बनाउनुपर्ने छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेलामौकामा केही मानिसले प्रश्न उठाउने गर्छन् त्यसको जवाफ पनि हो। जुन सङ्घीयता संस्थागत गर्न एक कदम अघि बढेको छ।’

प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक स्थिरता र स्थायित्वको वातावरणलाई अझ राम्रोसँग अगाडि बढाउन तथा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नयाँ भवनले समृद्ध सुसंस्कृत, प्रणाली र विधिविधानमा चल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकार र स्थानीय तहले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह पनि गरे।

प्रधानमन्त्री दाहालले नयाँ मन्त्री बनेपछि पुल्चोकको मन्त्री निवासमा को पहिला गएर कुन क्वाटरमा बस्ने भन्ने ‘लिगलिगे दौड’ हुने गरेको ठट्ठा गर्दै अब त्यस्तो प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। उनले सङ्घीय मन्त्रीको निर्माणाधीन निवासमा पनि सम्बन्धित मन्त्रीको तोकेको खण्डमा भवनको मर्मत स्याहार प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसको संस्थागत विकासका निम्ति नवनिर्मित भवन उदाहरणीय हुने विश्वास व्यक्त गरिन्। प्रदेश सरकारले समन्वय र सहकार्यका साथ जनतालाई छिटो छरितो र सहज ढङ्गले सुविधा दिलाउनेतर्फ सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिइन्।
मन्त्री गुरुङ्गले नयाँ सहर, ‘स्मार्ट सिटी’ निर्माणलाई अगाडि बढाउन मन्त्रालय लागि परेको र निर्माणाधीन पूर्वाधारको चाँडो निर्माण सम्पन्न गर्नेतर्फ पनि ध्यान दिइएको उल्लेख गरेकी थिइन्।


