काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालकी पत्नी कौशिलाले आफ्ना पतिलाई रिहा गर्न माग गरेकी छन्। झापाको बिर्तामोडमा बस्दै आएकी कौशिलाले प्रेस नोट जारी गर्दै यस्तो आग्रह गरेकी हुन्।
आफ्ना पति टेकनाथलाई ‘अप्रमाणित र अवाञ्छित अभियोगमा’ थुनिएको उनको दाबी छ। शरणार्थीको स्वेच्छिक घरफिर्ती अभियानमा रहेका आफ्ना पतिको अभियानलाई निस्तेज गराउने आफ्ना पतिलाई थुनिएको उनको आरोप छ। यस्तो अभियान निस्तेज गर्न लामो समयदेखि चलखेल हुँदै आएको समेत उनको भनाइ छ।
‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको छ। आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैंमा अन्यायपूर्ण देखिन्छ,’ उनले भनेकी छन्, ‘नक्कली शरणार्थीको यो गिरोहबारे स्वयं रिजालले एक वर्षअघि देखि नेपालका पूर्वप्रधानमन्त्रीहरू तथा बहालवाला मन्त्री, पूर्वपरराष्ट्र मन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आउनुभएको थियो। यो गिरोहमा संलग्न व्यक्तिहरूका बारेमा गत वर्ष वैशाख अन्तिममासमेत गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको यथार्थबारे नेपाली मिडिया जगत जानकार छ।’
उनले ७६ वर्ष पूरा हुन लागेका र सुगर, ब्लडप्रेसरबाट ग्रसित नेता रिजालको आगत-विगत सम्झेर पनि न्यायिक सुनुवाइका लागि अनुरोध गरेकी छन्।


