काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिएका छन्।
सोमबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकपछि देशको समसामयीक विषयमा पार्टीको धारणा राख्ने क्रममा साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही नभए न्यायका लागि पीडितहरूलाई लिएर हेग जाने चेतावनी दिएका हुन्।
उनले पीडित संघर्ष समितिसँग भएको पाँचबुँदे सहमतिबाट सरकार पछि हटेको भन्दै कानूनको नभएर कुर्चीको साशनमा सरकार तल्लिन भएको आरोप लगाए।
‘गौर हत्याकाण्डमा मुद्दा दर्ता भएकै १७ वर्ष भैसकेको छ।दुनियाँले बुझ्छन् मुद्दा दर्ता भएपछि अब प्रोसेसमा जान्छ। १७ वर्ष अगाडि मुद्दा दर्ता भैसकेको छ तर,कानून लाग्दैन।सरकारले भन्छ हामी छानविन गर्छौँ,तर कुर्ची हल्लिने भएपछि भन्छ केही दिन रोक्नुपर्छ,’ सांसद साहको भनाइ छ, ‘यसलाई लटरपटर गर्नुपर्छ केही गर्नु हुँदैन,के यो कानूनको साशन हो? कुर्चीको साशन भन्ने कि कानूनको साशन भन्ने कि कुर्चीको लागि बनेको भन्ने प्रश्न आउँछ।’
उनले गौर हत्या काण्डमा पनि कानूनको साशनको खिल्लि उडाउने काम भैरहेको भन्दै गौर हत्यामा नेपालमा न्याय नपाए अन्तराष्ट्रिय अदालत जाने चेतावनि दिए।
‘गौर हत्याकाण्डको विषयमा यदी सरकारले यसरी नै सक्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैन,’ उनले भने, ‘हाम्रो पार्टी चुप लागेर बस्दैन। यदि पीडितले नेपालमा न्याय नपाए अन्तराष्ट्रिय अदालत हेग जान्छौँ। यो चेतावनी दिन चाहान्छु।’


