पोखरा– २२औं आहा रारा पोखरा गोल्ड कपमा ३ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको छ। सहारा क्लब पोखराले मंगलबार एक पत्रकार सम्मेलन गरी ३ लाख १८ हजार ९५७ रुपैयाँ बचत भएको जानकारी दिएको हो।
हिश्री फुड्सको मुख्य प्रायोजनमा २०७९ भाद्र १४ देखि भाद्र २३ सम्म सञ्चालित प्रतियोगितामा ९४ लाख ६५ हजार ६२६ कूल आम्दानी भएको मध्ये ९१ लाख ४६ हजार ९६९ खर्च भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन्।
यसैगरी प्रतियोगितामा मुख्य प्रायोजकबाट रु १ लाख बराबरको रारा तयारी चाउचाउ दर्शकलाई वितरण गरिएको थियो। प्रतियोगितामा टेल–जी इलेक्ट्रिक स्कुटरको तर्फबाट बेस्ट प्लेयर प्रायोजन बापत रु एक लाख पच्चीस हजार रुपैयाँ, एक्सटेप स्पोर्ट्स वयर काठमाडौँबाट स्ंवयंसेवक पोशाक प्रायोजन बापत नगद रु १ लाख, बुद्ध एयरबाट २६ थान हवाई टिकट, सीजी कम्पनीबाट रु ३० हजार बराबरको टीभी, सहारा युकेले म्यान अफ द म्याच ट्रफीसहित नगद, बेस्ट अफ फाइभ ट्रफी तथा अन्य ट्रफी मेडल गरी रु २ लाख २० हजार बराबरको अतिरिक्त सहयोग गरेको क्लबले जनाएको छ।
पोखरा महानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, हिमाअस एजुकेशन, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलियाले सहयोग गरेको आर्थिक उपसमितिका संयोजक सुनिल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ।
‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्धेश्य अनुरुप क्लव द्वारा संचालित कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरुका लागि सञ्चालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुबल एकेडेमीको सहयोगार्थ हरेक वर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ।
कुल १० टिम प्रतियोगी रहेको २२औं आहा! रारा पोखरा गोल्ड कपको विजेता संकटा क्लब काठमाण्डौं र उप–विजेता भुटनीज युथ स्पोर्ट्स क्लब मिनोस्वोटा यु.एस.ए रहेको थियो।



