काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रबहादुर विष्टसहितविरुद्ध झन्डै डेढ करोडको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर विष्टसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायतले १ करोड ३४ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
महाकाली नदीबाट ढुंगा/बालुवा/गिटी र माटो निकाल्नका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको थियो। यसमा भवानी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिइयो। उसलाई छुट दिनका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले ठेकेदारलाई छुट दिन सिफारिस गरेको र उक्त सिफारिसलाई नगरसभाले पारित गरेको थियो।
तर यसरी समिति गठन गर्दा नै ठेकेदारलाई अवैधानिक छुट दिने नियतका साथ राज्यलाई झन्डै डेढकरोड रुपैयाँ नोक्सानी पुर्याएको भन्दै विष्ट र जोशीसहित समितिका सदस्यहरू र ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो। यो आव २०७६/७७ को विषय थियो।
भीमदत्त नगरपालिकाको तत्कालीन राजस्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरु तत्कालीन वडा नं. १७ का वडा अध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोबिन्द उपाध्याय, लेखा अधिकृत (छैटौ) बिक्रम भण्डारी र नायव सुव्वा नरेन्द्र देव भट्ट थिए। उनिहरूविरुद्ध पनि सोही बराबरको रकम माग गर्दै मुद्दा दायर भएको छ।
यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका सचालक ईश्वरी प्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि अख्तियारले विपक्षी बनाएको छ।
