सुर्खेत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छोड्न परे पनि आफूलाई गाह्रो नलाग्ने बताएका छन्। बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।
आफूलाई सरकार जोगाउने चिन्ता नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। सरकार जोगाउन जे पनि गर्ने पक्षमा आफू नरहेको उनको टिप्पणी छ।
‘मैले सरकारको नेतृत्व गर्दैगर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ। राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्,’ उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म।’
वर्षायाम सकिएपछि लाखौं जनतालाई सडकमा उतार्नेसमेत उनको घोषणा छ। राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले जिकिर गरे। ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो।’


