काठमाडौँ- चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरासी करेन्ट लागेर चार जनाको ज्यान गएको छ। करेन्ट लागेर बिहीबार एक जना र बुधबार तीन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बिहीबार बिहान पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ।
सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै बुधबार छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लागेर अन्य तीन जनाको ज्यान गएको छ।
चितवन, रत्ननगर नगरपालिका–१५ माधवपुर अन्नपूर्ण टोलस्थित निर्माणाधिन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१५ बस्ने १८ वर्षीय ओम बहादुर गुरूङको बुधबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।
कैलाली, गोदावरी नगरपालिका–५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको पनि हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
यता ललितपुर महानगरपालिका–४ धोबिघाटस्थित निर्माणाधिन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका–२ घर भएका २७ वर्षीय धिरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पताल पुल्चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
