काठमाडौं–संखुुवासभा कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदी हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोदारले बताए। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।
कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झन्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन्। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कारागारमा रहेको सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नता देखिएको थियो। कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ।
कुटपिटबाट गत २४ साउनमा संखुुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। २५ क्षमता रहेको कारागारमा अहिले एक सय ३६ कैदीबन्दी छन्।


