काठमाडौँ- काठमाडौँको पेप्सीकोलामा दुर्घटनामा घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा छन्। सिभिल अस्पतालमा उपचारको क्रममा उनीहरुुको मृत्यु भएको एसपी ढुंगेलले बताए।
जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान ७ः३० बजे आपसमा ठोक्किएका थिए।
ती दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।
दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा १४ जना घाइते भएका थिए। यीमध्ये ८ जनाको मदरल्यान्ड र ४ जनाको सिभिल अस्पतालमा उपचार जारी छ।
घाइते भई उपचार गराइरहेकाहरूमा दोलखा भीमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा छन्। स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानी बस्ने २९ वर्षीया सरस्वती खड्का पनि घाइते छन्।
त्यस्तै रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनील मगराती, २१ वर्षीय राजकुमार मगराती पनि घाइते बनेका छन्। सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन्।
त्यस्तै मोरङ उर्लाबारी नगरपालिका- ४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका- ७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते छन्।


