काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको र बंगाल खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले नेपालका धेरैजसो स्थानमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।
अहिले मुलुकका विभिन्न भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहेको छ। दिउँसोतिर वर्षाको सम्भावना छ।


