काठमाडौँ- अनलाइन व्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहितको गिरोहलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिक छन् भने बाँकी नेपाली रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरिएको हो। नयाँ बानेश्वरको प्रहरी टोलीले ‘अपरेसन चार्ली अनलाइन स्क्याम’ चलाएर ठगीमा संलग्नलाई पक्राउ गरेको हो।
काठमाडौँ बस्ने चिनियाँ नागरिकले अनलाइन बिजनेसमा सहभागी भए ३० प्रतिशत तत्कालै कमिसन पाइने प्रलोभनमा पारी नेपालीहरूलाई ठगी गरेका थिए। प्रहरीका अनुसार ह्वाट्स एपमा म्यासेज पठाउने र टेलिग्राममा खाता खोलेर अनलाइन बिजनेसमा सहभागी हुन उनीहरूले बाध्य पारेका थिए। टेलिग्राममा अपरसन टिचर नामक च्यानलमार्फत् कक्षा सञ्चालन गरी विश्वास दिलाएको र अन्त्यमा ठगी गरेका प्रहरी अनुसन्धानबाट खुलेको हो।

पैसा हालेपछि सामान अनलाइनमार्फत् बिक्री हुन्छ र त्यसबापत आउने ३० प्रतिशत कमिसन आउने भन्दै ठगी गरेको पाइएको हो।
ठगीमा संलग्नहरू चिनियाँ नागरिक भएपनि उनीहरूलाई नेपालीलाई काम दिने भन्दै हायर गरेका थिए। चिनियाँले नेपालीलाई सुरुमा तालिम पनि दिएका थिए। सुरुमा बिक्री गरेको सामानको मूल्यको ३० प्रतिशत रकम कमिसन पनि उनीहरूले बैंक खातामा नै जम्मा गरिदिने गरेका थिए। तर उक्त रकम नेपालीहरूले चलाउन भने पाएनन्। आफ्नो कम्पनीमा काम गर्नेहरुको बैंक खाता कब्जामा लिएका चिनियाँले आफ्नो कम्पनीमा काम गर्दा कमिसन आएकाले त्यो रकमबाट पुनः सामान किन्नुपर्ने शर्त राखे। ठूलो रकम जम्मा भएपछि पनि चिनियाँले नेपालीलाई रकम निकाल्न दिएनन्।
‘जम्मा भएको रकमबाट सामान किन्नै पर्छ भन्ने, नकिने उल्टै जरिवाना लाग्छ भनेर चिनियाँले नेपालीलाई ठगी गरेको पाइएको छ,’ उपरीक्षक राठौरले भने, ‘आफैँ खाता चलाउने र आफैँ सबै एक्सिस बन्द गरिदिने समेत गरेको अनुसन्धानबाट देखिएको छ।’
यसरी ठगीमा परेका नेपालीले प्रहरीमा उजुरी दिएका थिए। उनीहरूको उजुरीलाई केलाउन प्रहरीले अपरेसन चार्ली अनलाइन स्क्याम्प चलायो। तिनी उजुरी पछ्याउँदै जाँदा चिनियाँ गिरोहसम्म प्रहरी पुगेको उपरीक्षक राठौरले जानकारी दिए।
थुप्रै नेपालीबाट ठूलो रकम चिनियाँ नागरिकले नेपालीलाई ठगेको हुन सक्ने आकलन भएपनि यकिनका साथ ठगीमा परेका व्यक्तिको संख्या र रकमबारे भन्न नसकिने राठौरले बताए। ‘नेपालीहरू युज भएका पनि छन्। तर सबै पीडित छन्,’ उनले भने, ‘तर युज भएका नेपालीलाई चिनियाँले मासिक जम्मा १० हजार रुपैयाँ मात्र दिने गरेको अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान पनि जारी छ। विस्तृत अनुसन्धान भएपछि धेरै कुरा भन्न सकिन्छ।’
पीडितले एनआईसी एसिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठगीमा प्रयोग भएका ठूलो संख्याका उपकरण पनि प्रहरीले बरामद गरेको छ। उनीहरूका साथबाट प्रहरीले १२ थान ल्यापटप बरामद गरेको छ। विभिन्न कम्पनीका ७७ थान मोबाइल र सिम तथा थप ७७ थान सिमकार्ड पनि बरामद गरिएको छ। विभिन्न व्यक्तिका नाममा रहेको राहदानी ६ थान, नगद ४ लाख १ हजार ८८०, डेस्कटप २ थान र विभिन्न कम्पनीका राउटर ४ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ गरेर बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गर्ने क्रममा चिनियाँ नागरिकले विरोध गरेका थिए। आफूहरूलाई पक्राउ गरिदिएको विरोधमा उनीहरूले कार्यालय परिसरमा उनीहरुले नाराबाजी गरे। कार्यालय परिसरमा सुतिदिए। हत्कडीमा उनीहरू सुतेपछि पत्रकारहरूले तस्बिर खिच्न थालेका थिए। तर तस्बिर खिच्न खोज्नेलाई समेत उनीहरूले दुर्व्यवहार गरेका थिए। उनीहरूले नेपालीलाई गाली गरेको अनुमान गरिएपनि चिनियाँ भाषामा भएकाले प्रष्ट नभएको बताइएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको राठौरले जानकारी दिए।







