काठमाडौँ– एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको टार्गेट दिएको छ। सोमबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले भारतका सामु २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपालले ४८.२ ओभरमा अलआउट हुँदै उक्त लक्ष्य दिएको हो। भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाएका हुन्।
अलराउण्डर सोमपाल कामीले ४८ रन जोडेका थिए। ओपनर कुशल भुर्तेलले ३८ रन जोड्दा दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भएका थिए।
सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ रन बनाउँदा कुशल मल्ल दुई रनमै आउट भए भने करण केसीले २ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए। मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो।
