पोखरा- पोखरामा विगत २३ वर्षदेखि हुन नसकेको जात्राको पनि जात्रा मानिने बाघजात्रा आजबाट सुरु भएको छ। पोखराको नेवा छेँको भवनबाट सुरु भएको बाघजात्रा तीन दिनसम्म पोखराका विभिन्न ठाउँमा परिक्रमा गर्दै समापन हुनेछ।
२०५७ सालमा तीन दिनसम्म नचाइएको बाघजात्रा त्यसपछि हुन सकेको थिएन। संस्कृतिप्रेमीहरुको अगुवाईमा २३ वर्षपछि पुनः जागृत जात्राको उद्घाटन आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका हुन्।
जात्रा उद्घाटन गर्दै उनले विगतमा के कारणले जात्रा हुन सकेन भन्दा पनि अब यसलाई निरन्तरता दिदै लैजानुपर्ने धारणा समेत राखेका छन्। सशस्त्र द्वन्द्वको असरका कारण जात्रा रोकिएको थियो।
बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बाघ जात्रा आयोजना र पुनरुत्थान गर्न साथ दिने सबैलाई धन्यवाद दिँदै आगामी वर्ष पनि यो जात्रा निकालिने प्रतिवद्धता जाहेर गरेका छन्। उनले बाघजात्राको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको जानकारी दिँदै आगामी दिनमा पनि जात्राको संरक्षण संवर्धन र प्रवर्दनमा साथ दिन आग्रह गरेका छन्।

पोखरामा बाघजात्रा यही मितिदेखि सुरु भयो भन्ने ऐतिहासक प्रमाण नभेटिएपनि बाघजात्राको आयोजना कृषि युगसँग सम्बन्धित भएको कतिपयको बुझाइ रहेको छ। पुराना बुढा पाकाहरूका अनुसार पहिला पोखरा बजारको चारैतर्फ घनघोर जंगल थियो र जंगली बाघ, भालु जस्ता हिंस्रक जनावर ले मानव वस्ती मा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्ने गर्दथे।
कृषि पेशामा आबद्ध मानिसहरू बाघसँग लड्न भिड्न सक्दैनथे र स्वभावतः सहयोगका लागि राजासँग गुहार माग्नु पर्दथ्यो। साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावर ले दुःख दिएको बिन्ती सुनाउँथे राजा पनि जनता लाई सहयोग गर्न आउने गर्थे। ठीक यही परिदृश्य प्रस्तुत हुने गर्छ बाघजात्रामा। राजाले आफ्ना मन्त्रीगण र सेना लिएर बाघ को शिकार गर्न आएको कथनलाई नै बाघजात्रामा चित्रण गर्ने गरिन्छ।






