काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट सांसद कुन्दनराज काफ्लेले राजीनामा दिएका छन्। प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखेली जनताको सेवामा समय दिन नसकेको भन्दै उनले उक्त जिम्मेवारी छोडेको फेसबुकमा लेखेका हुन्।
‘नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको छु,’ राजीनामा पत्र बुझाएको तस्बिरसहित कांग्रेस नेता काफ्लेले फेसबुकमा लेखेका छन्।
‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो। प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु,’ उनले लेखेका छन्, ‘अतः केन्द्रीय सदस्यका रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु।’
