काठमाडौँ- एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। बुटवलस्थित अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई दुई मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।
विजयी कँडेलले ४७९ र प्रतिद्वन्द्वी रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले बताएको छ। निवर्तमान अध्यक्षसमेत रहेका कँडेल पाल्पाका हुन्। निवर्तमान अध्यक्ष कँडेलले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन्। विजयी कँडेल केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।
प्रदेश अधिवेशनमा उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत र उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत ल्याएर विजयी भएका छन्। यस्तै, उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत ल्याएर निर्वाचित भइन्।
अध्यक्षको निर्वाचनमा ९६५ मत खसेको थियो। सचिवमा लक्ष्मण आचार्य, पुरुष उपसचिवमा पूर्ण बुढा मगर, महिला उपसचिवमा बर्दियाकी लीला राना मगर विजयी भएका छन्।
गत १६ भदौदेखि सुरु भएको एमाले लुम्बिनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकामा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो। अधिवेशन उद्घाटन गर्न बुटवल पुगेका एमाले अध्यक्ष केपी ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिए पनि सहमति नहुँदा निर्वाचन भएको हो।
