चितवन–कांग्रेस चितवनले जिल्ला फर्क अभियान थाल्ने भएको छ। चितवनमा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो।
कांग्रेस चितवनको २३ भदौ हुने जिल्ला सम्मेलनमा सभापति राजेश्वर खनाल सो विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा छन्। उनका अनुसार सम्मेलनले अनुमोदन गरेसँगै अभियानका रूपमा बाहिरी जिल्लामा रहेका कांग्रेसका नेता, कार्यकर्तालाई जिल्ला फर्काउने गरी काम गरिनेछ।
उनले भने, ‘कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीलाई पार्टी र जनसम्पर्क समिति समन्वय गरी जिल्लामा फर्क अभियान कार्यक्रम सञ्चालन गर्छौं।’ आन्तरिक पार्टी सुदृढीकरणसँगै आमनागरिकको जनजीविकासँग जोडिएका विषयमा कांग्रेसलाई जोडेर संगठन सुदृढीकरण अभियानमा लाग्ने उनको भनाइ छ।
पार्टीले कांग्रेस वैदेशिक जनसम्पर्क समिति गठन गरी चितवन जिल्लामा स्थायी बसोवास भई अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेकालाई जोड्ने योजना बनाएको छ। खनालका अनुसार पार्टी सदस्य तथा शुभेच्छुकलाई पार्टी र सङ्गठनमा जोड्ने उद्देश्यले वैदेशिक जनसम्पर्क समिति चितवन स्थापना गरी काम गर्ने योजना अघि सारिएको छ।
सम्मेलनमा संगठनात्मक सबलीकरणसम्बन्धी नीति, पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित नीति, अन्य राजनीतिक दलसँगको सहकार्य र सम्बन्धको नीति, विकास निर्माण तथा सामाजिक कार्यसम्बन्धी नीति, सहकारी तथा कृषिसम्बन्धी फरक फरक नीति सम्मेलनमा पेस गरिँदै छ।
पार्टीको १४औं महाधिवेशनमा रहेका क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन्। तत्कालीन समयमा दुई हजार ९ सय सात जना क्षेत्रीय प्रतिनिधि थिए। सम्मेलनमा सहभागी हुनलाई पार्टीको सदस्यता नवीकरण हुनुपर्ने उनले जानकारी दिए। यससँग भ्रातृ र शुभेच्छुक संस्थाका जिल्ला र केन्द्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।
सम्मेलनमा पार्टी सभापतिले नीति तथा कार्यक्रम, सचिवले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गरेसँगै बृहत् छलफल गरिने उनले बताए। ४१औं बिपी स्मृति दिवसका दिन ६ साउनदेखि क्रियाशील सदस्यता नवीकरण सुरु गरेको चितवन कांग्रेसले २७ साउनदेखि वडा सम्मेलनसँगै क्रमशः पालिका, प्रदेश, क्षेत्रको सम्मेलन सम्पन्न गरेको छ।–रासस
