काठमाडौँ- नुवाकोटका श्याम सापकोटाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको खुलेको छ।
४७ वर्षीय सापकोटा राजसंस्थाप्रति आस्थावान र नेपालका लागि अमेरिकी अनुदान एमसीसीको विरोधी रहेको पनि खुलेको छ। सापकोटको घर नुवाकोटको विदुर नगरपालिका–७ मा पर्ने प्रहरीले जानकारी दिएको छ।
दिउँसो यादवमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो। पक्राउ परेपछि उनले ‘राजसंस्था जिन्दावाद!’ भन्दै नारा लगाएका थिए। उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका पनि भिडियोमा सुन्न सकिन्छ। उनले एमसीसीविरुद्ध पनि नाराबाजी गरेका थिए।
खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्याएका यादवको टाउकोको पछाडिको भागमा चोट लागेको अस्पतालले बताएको छ।

काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको थियो।
यादव माथि खुकरी प्रहार गरेका सापकोटाले रिपोटर्स क्लबमा भएको कार्यक्रममा यादवको भाषण सुनेका थिए। कार्यक्रममा सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी प्रहार गरेका थिए।
यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको विरोध गरेका थिए।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


