काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगरी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्- कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण। यति गम्भीर आरोपमा मुछिएर थुनामा रहेका भएपनि उनको शक्तिसूचक बनेको छ, सुन्धारास्थित केन्द्रीय कारागार पुग्ने नेताहरूको लर्को।
कांग्रेसका नेताहरूले त खाणलाई भेटेका छन् नै, एमाले र माओवादीका पनि उनलाई भेट्न कारागार पुग्ने गरेका छन्। यसले उनको शक्ति कांग्रेसमा मात्र नभएर अन्य दलसम्म पनि फैलिएको अनुमान लगाउन गाह्रो भएन। एमाले-माओवादी नेता यदाकदा पुग्ने भएपनि कांग्रेस नेता/कार्यकर्ता भने खाणसँग बाक्लै भेटघाटमा छन्। पार्टीका सिनियर नेता, बहालवाला मन्त्रीदेखि भातृसंस्थाका नेता खाणलाई भेट्न कारागार पुगिरहन्छन्।
पुर्पक्षका लागि थुनामा रहेपनि खाणको पार्टीभित्र बलियो पकड छ। यो कुरा साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले पनि पुष्टि गरेको छ। बैठकमा खाणलाई निलम्बन गर्नुपर्ने आवज मधुरो सुनियो। भ्रष्टाचार र अनियमततामा मुछिएका नेताहरुलाई कारबाही गर्नुपर्ने बताएका नेताहरूले पनि खाणको नाम उच्चारण गर्न सकेनन्। बरु खाणलाई फसाइएको/पार्टीले जोगाउन भूमिका नखेलेको/खाण पक्राउ पर्दा खुसियाली मनाइएको भन्दै अधिकांश केन्द्रीय सदस्यहरु बचाउमा उत्रिए। खाणलाई निलम्बन गर्नुपर्ने माग राख्ने केही नेतामाथि निशाना साँध्ने काम अधिकतर केन्द्रीय सदस्यहरुले गरेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठक। फाइल तस्बिर
कांग्रेस राजनीतिमा खाण त्यस्ता नेता हुन्- जसको कार्यकर्ता लेभलमा राम्रो पकड थियो। कांग्रेसका दुई प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हालिसेककाले पनि खाणको बलियो पकड रहेको बुझाइ छ। कतिपयले त उनलाई कांग्रेसको भावी सभापतिका रुपमा समेत चित्रित गर्ने गरेका थिए। यस्तो अवस्थामा अहिले खाणको विरोध गर्दा वा चिढ्याउँदा आन्तरिक राजनीतिको हिसाब गडबड हुन सक्ने भन्दै खुल्न सक्दैनन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको नाम मुछिँदा होस् वा पक्राउ परिसकेको अवस्थामै किन नहोस् उनको बचाउमा तरुण दलले विज्ञप्ति नै जारी गरेको छ। कांग्रेस केन्द्रीय समितिले पनि उनलाई निलम्बन गर्ने विषयमा रुचि देखाएन। यी घटनाक्रमले कांग्रेस र उसका भातृसंस्थामा खाणको पकड मजबुद रहेको देखाउँछ।
को-को पुगे भेट्न?
खाणलाई भेट्न पुगिरहने नेतामा पर्छन्- सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादव। खाणलाई भेट्न कांग्रेसका प्रभावशाली नेताहरू शेखर कोइराला, शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सुन्धारा पुगेका छन्। सहमहामन्त्रीहरु डिना उपाध्याय, किशोरसिंह राठौर पनि खाणलाई भेटिराख्ने नेतामा पर्छन्।
‘मेरो बारेमा पार्टी प्रष्ट होस्। म निर्दोष हो भन्ने राजनीतिक र कानुनी रूपमा मुद्दाको नेतृत्व पार्टीले लिनुपर्यो,’ खाणले गुनासो पोख्ने गरेका छन्, ‘म दोषी हो भन्ने लाग्छ भने पार्टीले त्यहीअनुसार काम गरोस्,’ खाणले भन्ने गरेका छन्।
कांग्रेस केन्द्रीय शंकर भण्डारी, हृदयराम थानी, उदयशम्शेर राणा, जितजंग बस्नेत, नागिना यादवलगायत पनि खाणलाई भेट्न पुगिसकेका छन्। परराष्ट्र मन्त्री एनपी साउद, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बनीका मुख्यमन्त्री डिल्ली चौधरीले पनि सुन्धारा पुगेर खाणलाई भेटिसकेका छन्। मंगलबार मात्रै कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका थिए।
खाणलाई भेट्न पुग्नेमध्ये दुई कोइरालाले भटेको अर्थ भने छुट्टै रहेको बताइएको छ। खाणलाई भेट्नका लागि पछिल्लो पटक भदौ १३ गते पूर्वमहामन्त्री शशांक कोइराला केन्द्रीय कारागार पुगेका थिए। खाण र कोइरालाका बीचमा करिब आधा घण्टा कुराकानी भएको थियो। त्यो भन्दा अघि साउन ३१ गते नेता शेखरले खाणलाई भेटेका थिए। उनीहरुबीच पनि आधा घण्टा कुराकानी भएको बताइएको छ।
खाण निकट नेताहरुका अनुसार अहिले उनी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का दुवैसँग सन्तुष्ट छैनन्। कांग्रेससमेत सहभागी सरकारले आफूलाई फसाएको खाणको बुझाइ छ। ‘सभापतिज्यू र पूर्ण दाइसँग उहाँ खुशी हुनुहुन्न। तर, अहिले उहाँलाई भेट्न पुग्ने अधिकांश नेताहरुको उद्देश्य एकै छ- सहानुभूति बटुल्ने,’ ती केन्द्रीय सदस्यले भने। त्यसो त खाणलाई भेट्न नेविसंघ र तरुण दलका नेता-कार्यकर्ताको ताँती लामो हुने गरेको छ। दुवै संगठनको अध्यक्ष भइसकेकाले पनि खाण भेट्न तरुण-विद्यार्थी नेताहरू जाने गरेका हुन्। अझ दुवै संगठनले जम्बो समिति पाएपछि भने तरुण-विद्यार्थी नेताहरू खाणको आशिर्वाद थाप्न पुग्ने गरेका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कारागारमा नै पुगेर खाणसँग भेटघाट गरिसकेका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादीका केन्द्रका सचिव देवेन्द्र पौडेल पनि खाणलाई भेट्न केन्द्रीय कारागार पुगिसकेका नेता हुन्।
पार्टीभित्र खाण पक्षधरको वर्चश्व!
खाण लामो समय सभापति शेरबहादुर देउवाको निकटमा रहे काम गरेका नेता हुन्। जसका कारण केन्द्रीय समिति बैठकमा देउवा पक्षधर अधिकतर नेता खाणको बचाउमा उत्रिएका हुन्। खाणलाई निलम्बनको विषयले कांग्रेस बैठक दुई धारमा बाँडिएको थियो। केन्द्रीय समिति बैठकले खाण लिम्बनको विषयमा निर्णय गरेन। यसबारे महामन्त्री गगन थापाले ‘नोट आफ डिसेन्ट’नै लेखेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा थिए।

प्रहरी हिरासतमा खाण।
पार्टीमा रुपान्तरण अभियान चलाइरहेका नेताहरूले खाण पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै भेटेर धन्यवाद दिएका थिए। तर, केन्द्रीय समितिका बहुमत सदस्य भने खाणको पक्षमा उभिएका थिए। त्यसो त पार्टी केन्द्रीय समिति खाणनिकट २० जना भन्दा धेरै सदस्य छन्। सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र महेन्द्र यादव खाणनिकट मानिन्छन्।
यस्तै केन्द्रीय सदस्यहरु जीतजंग बस्नेत, लक्ष्मी परियार, राधा घले, गंगा शाही गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका सुरेन्द्र पाण्डे खाणनिकट मानिन्छन्। संसदीय राजनीतिमा पनि खाणको छुट्टै पावर सेन्टर छ। सांसदहरु मञ्जु खाण, वीरबहादुर बलायर, उदयसम्शेर राणा, रामहरी खतिवडा, रूपा विक, मनोरमा शेरचन, कान्तिका सेजुवाल, पुष्पबहादुर शाह, नागिना यादव, एनबहादुर शाही, सरस्वती बजिमय, सुशीला थिङ खाण निकट मानिन्छन्।
सहानुभुति बटुल्ने प्रयास
हुन त कांग्रेसको १५औं महाधिवेशन आउन अझै साढे २ वर्ष छ। यद्यपि नेताहरुमा १५औं महाधिवेशनको ज्वरोका लक्षण देखा पर्न थालिसकेका छन्। विधानतः देउवा अर्को कार्यकाल सभापति बन्न पाउँदैनन्। जसकारण उनको उत्तराधिकारीको चर्चा हुनु स्वभाविक नै हो। संस्थापन समूहबाट देउवाको उत्तराधिकारीका रुपमा उपसभापति पूर्णबहादुर खड्का र खाणमध्ये एक हुन सक्ने अड्कल भइरहेको अवस्थामा खाण थुनामा परे। देउवाले आफूलाई उत्तराधिकारी बनाउने भनेर शशांक कोइरालाले दाबी गर्न थालेका छन्। खाण थुनामा परेपछि शशांकले पहिलो पटक आफू देउवाको उत्तराधिकारी बन्न दाबी गरेका हुन्।
‘म साह्रै दुःखी छु। तपाईँलाई यहाँ देख्ने कुरा कल्पना भन्दा बाहिर थियो। तपाईँलाई छुटाउन सकेसम्म पहल गर्नेछौं,’ खाणलाई भेट्ने अधिकांश नेताहरुले भन्ने गरेका छन्।
पार्टीको तल्लो तहसम्म पकड रहेका खाणमाथि लागेको अभियोगको छिनोफानो हुन बाँकी नै छ। अदालतबाट सफाइ पाउँदा होस् वा थुनामा रहँदा नै किन नहोस्, खाणले पार्टीको आन्तरिक राजनीतिमा प्रभाव राख्छन्। जुन तथ्यलाई नेताहरुले नजरअन्दाज गरेका छैनन्। त्यसकारण खाणको साहानूभूति लिन केन्द्रीय कारागारमा पुग्ने नेताहरुको सूची लम्बिने क्रम जारी छ। यसरी खाणसँग भेटका लागि पुग्ने नेताहरूको सूची लम्बिनुको कारण हो- खाणलाई चिढिन नदिनु, सहानुभूति लिन खोज्नु। खाणलाई भेटेर नेताहरुले दुःख व्यक्त गर्छन्। छुटाउन पहल गर्ने आश्वासन दिन्छन्।
‘म साह्रै दुःखी छु। तपाईँलाई यहाँ देख्ने कुरा कल्पना भन्दा बाहिर थियो। तपाईँलाई छुटाउन सकेसम्म पहल गर्नेछौं,’ खाणलाई भेट्ने अधिकांश नेताहरुले भन्ने गरेका छन्। तर खाणले भने आफू निर्दोष रहेको जिकिर गर्ने गरेका छन्। आफ्नो विषयमा पार्टी पनि प्रष्ट नभएको उनको गुनासो हुने गरेको छ।
‘मेरो बारेमा पार्टी प्रष्ट होस्। म निर्दोष हो भन्ने राजनीतिक र कानुनी रूपमा मुद्दाको नेतृत्व पार्टीले लिनुपर्यो,’ खाणले गुनासो पोख्ने गरेका छन्, ‘म दोषी हो भन्ने लाग्छ भने पार्टीले त्यहीअनुसार काम गरोस्,’ खाणले भन्ने गरेका छन्।
नेविसंघका एक पूर्वअध्यक्षका शब्दमा खाण पार्टीका प्रमुख दुई भातृसंस्थाको प्रमुख भइसकेको र खाणसँग एक पटक जोडिएका नेता-कार्यकर्ता कहिल्यै टाढिन परेको छैन। नेविसंघ र तरुण दलको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय रहँदाका बखत खाणसँग जोडिएका नेता-कार्यकर्ता अहिले पनि उनीसँगै छन्।
‘उहाँसँग एक पटक जोडिएका जो कोही उहाँसँग टाढिएका छैनन्। त्यसकारण पार्टी राजनीतिमा उहाँको बलियो पकड छ,’ ती पूर्वअध्यक्षले भने, ‘त्यसकारण पार्टीको आन्तरिक शक्ति सन्तुलनमा उहाँको भूमिकाको ठूलो अर्थ रहन्छ।’


