काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले घटनाका विषयमा गम्भीर अनुसन्धान गर्न पनि माग गरेका छन्।
‘कांग्रेसको तर्फबाट सचेत गराउन चाहन्छु, ध्यानकार्षण गराउन चाहन्छु, घटना कसरी भयो? किन भयो? गहिरो अनुसन्धान होस् र योसँग जोडिएका अन्य सबै पक्षको उजागर होस्,’ उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका पछिल्ला अभिव्यक्तितर्फ संकेत गर्दै उनले जिउधनको सुरक्षाका विषयमा पनि सरकारसँग प्रश्न गरे। ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु। के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो?,’ उनले प्रश्न गरे, ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नाइँ?’


