काठमाडौँ- अमेरिकी सेनाको टोली काठमाडौँ आइपुगेको छ। अमेरिकी सेनाको टोलीलाई लिएर आएको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण गरेको हो।
नियमित रुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेनाको टोली जहाज लिएर काठमाडौँ आएको हो। उक्त तालिम २४ भदौदेखि सुरु हुने छ।
आउँदो १२ असोजसम्म काठमाडौं उपत्यकामा दुई मुलुकबीचका सेनाको संयुक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सैन्य संगठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ।
२४ भदौदेखि हुने अभ्यासमा सहभागिताका लागि आज अमेरिकी सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।
यसैबीच बेलायतमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा गएको निर्देशनालयले जनाएको छ।





