काठमाडौँ- तीज नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम आयोजना भइरहेका छन्। आज गौशालास्थित अनुपम फुडल्यान्डमा उप्रेती समाज सेवा समितिले तीज कार्यक्रम आयोजान गर्यो। सो कार्यक्रममा देशभरबाट काठमाडौं उपत्यकामा बस्दै आएका उप्रेतीहरू भेला भएका थिए।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ८२ वर्षीय पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी राणा थिए। पशुपति शमशेरकी श्रीमती उषा राज्यलक्ष्मी सम्भवतः पहिलो पटक कुनै सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि बनेकी थिइन्।
उषाले तीज कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन्। उनले भनिन्, ‘रमाइलो गर्न आएको तपाईंहरुसँग। तीजको शुभकामना छ।’ त्यस्तै, पशुपति शमशेरले भने श्रीमती उषासहित तीजमा महिलाहरुसँग नाच्न पाउने सन्दर्भ यसअघि नजुटेको बताए। ‘म र मेरो पत्नी भएर तपाईंहरुसँग तिज मनाउन पाउँदा हुरुक्क भएको छु,’ उनले भने।
उनले शुभकामना दिँदै सबैलाई रमाइलो गरेर तीज मनाउन आग्रह गरे। अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा उपस्थित व्यक्तिहरुसँग उषा र पशुपतिले नाचगान गरेका थिए। सो कार्यक्रममा उनीहरुले ७५ वर्षभन्दा माथिका वृद्धहरुलाई सम्मान गरेका थिए।














