काठमाडौं– पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला अर्थात् सान्दाजुको ११०औं जन्मदिन। नेपालको प्रजातान्त्रिक आन्दोलनलाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएका बीपीको जन्मदिवस आज सत्तारुढ कांग्रेसलगायतले श्रद्धापूर्वक मनाउँदै छन्। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका बीपी आजकै दिन २४ भदौ १९७१ मा जन्मिएका थिए।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको धरो राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।
भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्र्राममा भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन्। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशमशेरको नेतृत्वमा २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ को क्रान्ति सफल भएको मानिन्छ। दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले संसद् र सरकारमा ठूलो दलका रुपमा रहेको छ। यद्यपि कांग्रेसले सत्ताका लागि साम्यवादी विचारधाराको नेकपा माओवादी केन्द्रलाई सत्ताको साँचो सुम्पिएको छ।
२००७ क्रान्तिको सफलतापछि मोहनशमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने। २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए।
१ पुस २०१७ मा तत्कालीन शाही नेपाली सेनाको बन्दुकको भरमा जननिर्वाचित सरकारलाई तानाशाही राजा महेन्द्र शाहले अपस्थ गरे। प्रजातन्त्रको अपहरणपछि बीपीलगायत नेताहरुलाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता बीपी, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो।
२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।
साहित्यकार बीपी
क्यान्सर रोगका कारण बीपीको ६ साउन २०३९ निधन भयो। उनले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
बीपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिए। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २४ चैत २०६१ मा बीपी संग्र्रहालय बनाइएको छ।
संग्र्रहालयमा बीपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले ३० जेठ २०३० को क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।
बीपी जयन्ती अवसरमा कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्था र बीपी संग्र्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गर्नेछन्। बीपी जयन्ती अवसरमा कांग्रेसले ‘प्रथम बिपी साहित्य महोत्सव’ आयोजना गर्दै छ। आजदेखि तीन दिनसम्म ललितपुर सानेपास्थित मुख्यालयमा महोत्सव आयोजना गरिन लागेको हो। महोत्सव उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे गर्दै छन्।


