काठमाडौं – क्यानडा पठाइदिन्छु भन्दै १० लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-७ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने २४ वर्षीय सुजन पुरी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पुरीले भूमिराज राईलाई क्यानडा जाँदाको लागत १५ लाख हुने र त्यहाँ पुगेपछि मासिक तलब दुई लाख रुपैयाँभन्दा बढी हुने भनी आश्वासन दिएका थिए।
तर, रकम लिएर पुरी सम्पर्कविहीन भएपछि राई वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेका थिए।
विभागले पत्राचार गरेपछि खोजीमा जुटेको प्रहरीले पुरीलाई कागेश्वरी मनोहरा-१ बाटै पक्राउ गरेको रेग्मीले बताए।
पुरीलाई थप कारबाहीको लागि विभागमै पठाइएको उनले जानकारी दिए।


