काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्। मंगलबार बिहान ९ बजे कतार एयरवेजको जहाजबाट उनी अमेरिकाका लागि प्रस्थान गरेको परराष्ट्रमन्त्री साउदको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणको तयारीका लागि उनी अमेरिका प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन्। दाहाल अमेरिकाबाट नै फर्कँदा चीनको समेत भ्रमण गर्ने कार्यतालिका छ। दाहाल अमेरिकाबाट असोज ४ गते चीनका लागि प्रस्थान गर्ने तयारीमा छन्।
अमेरिकामा रहँदा परराष्ट्रमन्त्री साउदले शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयमा आयोजना हुने राष्ट्रसंघीय कार्यक्रममा सहभागीसमेत हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उक्त कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ।


