काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि फोरजी सेवा विस्तार गरेको छ। एनसेलले मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गरिएको जानकारी दिएको हो।
फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ। कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा संचालन गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन दुर्गममा फोरजी सेवाको विस्तार गरिएको बताए। ‘यो एउटा कोशेढुङ्गा हो किनभने पछिल्लो विस्तार पश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौँ,’ उनले भने, ‘यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्याउने छ।’
एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको छ। फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ।
देशभरि एनसेलको ४ हजार १०० भन्दा बढी फोरजी बीटीएस सञ्चालनमा छन्। फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो। त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १,४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ। आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो।
एनसेलले स्थापनादेखि अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको बताएको छ। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको एनसेलले सीएसआरमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको दाबी गरेको छ।


