महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ।
पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताए।
‘प्रशासनका प्रमुख कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ’, उनले भने, ‘लेखा शाखामा एउटा पनि कर्मचारी थिएन अहिले एक जना लेखापाल कोलेनिकाबाट पठाएको छ।’ उनले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य कामबाहेकका काम हुन नसकेको बताए।
उनले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताए। ‘अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने, ‘कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ।’
रासस


