काठमाडौं– वीरगञ्जस्थित बाल सुधारगृहमा दुई समूहबीच झगडा भएपछि रातैभर तनावपूर्ण स्थिति बनेको छ। वीरगञ्ज महानगर–४ बिर्तामा रहेको बाल सुधारगृह भक्तपुर सुधारगृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीं रहेको समूहबीच मंगलबार बेलुकी झगडा हुँदा रातभर तनावग्रसत बनेको हो।
दुई समूहको झगडाले सुधारगृहभित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमारविक्रम थापाले बताए। दुवै समूहको झगडा मत्थर पार्न गएको प्रहरीमाथि ढुंगामुढामा भएपछि रातैभर स्थिति तनावग्रस्त बनेको उनको भनाइ छ।
भक्तपुर बाल सुधारगृह तोडफोड गरी भागेका मध्ये १८ जनालाई वीरगञ्ज स्थानान्तरण गरिएको थियो। अहिले सो सुधारगृहमा १५७ जना बालबालिका छन्। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधारगृहका ११ जना र तीन प्रहरी घाइते भएको डीएसपी थापाले पुष्टि गरे। हलसम्म सुधारगृहभित्र दुई समूहबीच ‘ग्याङ फाइट’ चलिरहेकाले स्थिति नियन्त्रणमा आइनसकेको उनले बताए।


