काठमाडौं– संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखेर त्यसपछि निजी निवास बालुवाटार लगिने भएको छ। उनको पार्थिव शरीर बिहान ९ देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय च्यासलमै राखेर दिउँसो अपराह्न निजी निवासमा लगिने भएको हो।
एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिनेछ। त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिनेछ। एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झन्डा झुकाउने निर्णय गरेको छ।


