काठमाडौं- ट्विटरमा अमेरिकी पूर्व राष्ट्रपति ओबामालाईपछि पार्दै एलन मस्क अघि बढेका छन्। फलोअर संख्याका आधारमा मस्क अघि बढेका हुन्।
टेस्ला तथा स्पेसएक्सका संस्थापक मस्कलाई ट्विटरमा फलो गर्नेको संख्या १३ करोड ३१ लाख २७ हजार ८१ जना छ। उता ओबामाका १३ करोड ३० लाख ३६ हजार ४२३ फलोअर छन्। यो शुक्रबार बिहानको तथ्यांक हो।
ट्विटर किनेपछि मस्कले ट्विटर समूहको पेरोललाई ७ हजार ५०० कर्मचारीबाट दुई हजारभन्दा कममा झारेका थिए। सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाइराख्न र आर्थिक रूपमा व्यवहारिक बनाउनका लागि कर्मचारी कटौती र सशुल्क सेवाग्राहीको धारणा ल्याइएको उनको भनाइ छ। तर परिणाम भने निराशाजनक देखिएका छन्।
सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्विटरले प्राविधिक खराबी सामना गर्नुपरेको छ। लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ।
मस्कले प्रयोगकर्ताहरूको स्वतन्त्रतालाई प्रोत्साहित गर्दै आएको बताएका छन्। ट्विटरले अप्रिल १ देखि लागू हुने गरी सेलेब्रिटी वा पत्रकारलगायतलाई दिइएको ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि प्रोत्साहित गर्ने जनाएको छ।


