काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका जाने भएका छन्। उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासभाको सामान्य बहसको विषय विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृतः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने भनी छनोट गरिएको छ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औं महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्युयोर्कमा हुँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन्।


